मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दुई वर्षमा असाधारण उपलब्धि : प्रधानमन्त्री

दैनिक नेपाल २०७६ माघ १६ गते ७:०३

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठक बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस गरेका हुन्।

ओलीले २०७४ फागुन ३ मा झन्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका सम्हालेका थिए। दुई घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको कम्युनिस्ट सरकारले कुनै पनि सूचकांकमा नकारात्मक मानक प्राप्त नगरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए।

‘कुनै पनि सूचकले नेपाल नेगेटिभ (ऋणात्मक) छैन। अझ कम्युनिस्ट सरकारले कुनै नेगेटिभ मानक राखेको छैन। विगतबाट पछाडि पर्‍यो भन्ने केहीमा छैन, अगाडि बढेकै सूचकांक छन,’ प्रधानमन्त्री ओलीले भने।

उनले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकांकमा नेपाल गत वर्षको तुलनामा १६ औं स्थान माथि उक्लिएको उल्लेख गरे। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल अहिले १६आंै स्थान उक्लिएर ९४ औं स्थान कायम राख्न सफल भएको थियो। त्यसैगरी राष्ट्रसंघको मानव विकास सूचकांकमा पनि नेपाल १४९ स्थानबाट दुई स्थान सुधार गरेर अहिले १४७ स्थानमा उक्लिएको प्रधानमन्त्रीले जानकारी दिए।

विश्व भोकमरीको सूचकांकमा अहिले नेपाल ७३ औं स्थानमा रहेको प्रधानमन्त्रीले बताए। ‘यो उल्लेख्य सुधार हो। हामीले सडक–बालबालिकाको अन्त्य गरेका छौं। कोही खान नपाएर भोकै मर्नपर्ने अवस्था अन्त्य गरेका छौं। यो विश्वका लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने।

उनले शान्तिसुरक्षामा नेपाल चीन, भारत र बंगलादेशभन्दा राम्रो स्थानमा रहेको पनि बताए। ‘ग्लोबल पिस इन्डेक्समा नेपालले यस वर्ष १२औं स्थान सुधार गरेको छ। एक सय ६५ देशमध्ये नेपाल ७६औं स्थानमा उक्लिएको छ।

बंगलादेश १०१, चीन ११०, भारत १४१, पाकिस्तान १५४औं स्थानमा छ। यो हाम्रो स्थिति धेरै राम्रो हो। हामी धेरै अगाडि आएका छौं,’ प्रधानमन्त्रीले भने, ‘अझ यसलाई हामी निकट भविष्यमा राम्रो अवस्थामा पुर्‍याउन सक्छौं। केही टावर पड्काउने, चन्दा लिने, दुःख दिने नाउँमा भइरहेका गतिविधि नियन्त्रण गर्दैं गइरहेका छौं।’

ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने, पारदर्शिता कायम गर्ने र विधिको शासन स्थापनामा पनि नेपालले उल्लेख्य सुधार गरेको विश्वका विभिन्न सूचकांक प्रस्तुत गरे। उनले भने, ‘विधिको शासन स्थापनामा नेपाल दुई स्थान माथि उक्लिएको छ। हामी क्रमशः माथि जाँदै छौं। भ्रष्टाचार र पारदर्शितामा ११औं स्थानमा माथि उक्लिएका छौं।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित