काठमाडौँ, १५ माघ । बैंक अफ काठमाण्डौँ लिमिटेड र अरुण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेडबीच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा माघ १५ मा हस्ताक्षर भएको छ ।
९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९७ करोड रहेको छ ।
अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डौँ लिमिटेडको अगुवाइ रहेकोे उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको छ ।
अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ ।
उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डौँ लिमिटेडले नै सहवित्तियकरण कर्जाको अगुवाइ गरेको थियो ।
उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई असोज १, २०६० देखि नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तियकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ ।
साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डौँ लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।