रौतहट, १५ माघ । प्रहरी र अपराधिक समुहबीच गोली हानाहान भएको छ । फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान हुँदा आपराधिक समूहका १ जना गोली लागेर घाइते भएका छन् ।
जिल्लाको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाधनजिकै मंगलबार राति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो ।
घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबीराज खड्काले बताएका छन् ।
आपराधिक समूह भारत हुदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो ।
यही क्रममा आत्मरक्षाका लागि गोली चलाउदा चाद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । घाइते चादको दाहिने घुडामुनि गोली लागेको छ । घाइते चादको हाल गौर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।