
मोरङ, १४ माघ । मोरङ सुनसरीको सीमा भएर बग्ने केसलिया खोला नजिकै एक युवाको शव फेला परेको छ । प्रहरीका अनुसार युवकको शव हत्या गरेर फलिएको देखिएको छ ।
विराटनगर महानगरपालिका ४ र सुनसरीको दुहवी नगरपालिका १२ बुकडोरीको सीमाना छेउमा शव भेटिएपछि सुनसरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । युवकको अनुहार र टाउकोमा प्रहार गरी क्षतविक्षत बनाई हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।
माटो र परालले छोपेको तथा खुट्टा बाहिर देखिएको अवस्थामा पहिचान नखुलेका युवाको शव सानो खाल्डोमा रहेको जानकारी प्रहरीलाई आएको थियो । त्यहाँ बाँधिएको पराल र माटो थुपारिएको छ ।
बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लतपतिएको रगतका टाटाहरु छन् । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलरको टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
हत्या गरेर फ्यालिएका अन्दाजी २०-२५ वर्षको जस्तो देखिने मधेसी मुलका युवाको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया