
भैरहवा, १४ पुस । लुम्बिनी बिकास कोष गाडी खरिद प्रकरणका कारण बिवादमा आएको छ । ४० बर्षमा ८० प्रतिशत गुरुयोजना पुरा गरेर बजेट अभावका कारण काम नभएको बताउदै आएको कोषले करिब १ करोड ५८ लाख मूल्य बरावरको गाडी खरिद गर्न लाग्दा बिवादमा आएको हो ।
कोषका इन्जिनियर अफजल खानका अनुसार कोषले गुरुयोजना अनुसार ८० प्रतिशत काम सकेको छ भने २० प्रतिशत काम पुरा गर्न बजेट अभाव भएको छ । खानले २० प्रतिशत काम पुरा गर्न ६ अर्व बजेट आवश्यक रहेको बताए । लुम्बिनी गुरुयोजना पुरा गर्न बजेट अभाव भएको कोषमा बिलासी गाडी खरिद गर्न भने बजेट छ । करोडौँ मुल्यको गाडी खरिद गर्नुभन्दा लुम्विनीको बिकासमै लगानी गरौ भन्ने माग कोष भित्रकै अधिकाशं सदस्यहरुको रहेको छ ।
बिकास कोषले करोडौ मुल्यको गाडी खरिद गर्ने थाहा भएपछि कोषका परिषद सदस्य बैजनाथ साहनीले मन्त्रालय लाई गाडी खरिदको बिषयमा पत्राचार गरेपछि मन्त्रालयले अहिले उक्त बिषयमा छानविन गर्न समिती समेत बनाएको छ । कोषका उपाध्यक्षका लागि करोडौ मूल्य बरावरको जापानमा बनेको मित्सुबिसी ‘पजेरो स्पट’ किन्न लागिएको हो ।
कोषमा उपाध्यक्ष चढ्नको लागी पहिलेनै टक्सन गाडी रहेको छ । यस बाहेक कोषमा कोषाध्यक्ष चढ्ने कियाको स्पोटेज, योजना प्रमुख र सदस्य सचिवको लागी दुईवटा स्कोर्पियो रहेको छ भने कार्यालय प्रयोजनका लागि अन्य गाडी गरेर कोषमा कुल ६ वटा गाडी रहेका छन् ।
कोषले गाडी खरिदका लागि गत मंसिर १५ गते पत्रिकामा सूचना प्रकाशन गरेको थियो । कोषले टिकट बिक्री, श्रद्धालुले गर्ने दान र चन्दा बाट संकलन भएको रकमले बिलासी गाडी खरिद गर्न खोजेको हो ।
कोषका परिषद् सदस्य बैजनाथ साहानीका अनुसार गौतमबुद्धको परिपथमा हिडेर साधारण जिवन बिताउनु पर्ने पदमा भएको ब्यक्तीले यसरी बिलासी गाडी चढ्नु असोभनिय हो । साहानीले लुम्विनी भित्र अनियमितताको चाङ रहेको छ जसको छानविन हुनुपर्छ भनेरै आफुले मन्त्रालयलाई पत्रचार गरेको बताए ।
सहानीका अनुसार कोषले केही निर्णय गर्दा परिषद बैठक राख्नुपर्ने भएपनी ३ बर्ष देखी बैठक सम्म बस्न नसकेको जानकारी दिए ।
लुम्बिनी बचाउ संघर्ष समितिका संयोजक राम बिकास चौधरीका अनुसार लुम्विनी बिकास कोषमा सरकारले गम्भिरताका साथ छानविन गर्नुपर्ने बताए । चौधरीले लुम्विनीमा बिलासी गाडी खरिद बाहेक धेरै अनियमितता भएका छन् ।
सहानीले पत्राचार गरेपछी माघ ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सचिवस्तरको निर्णयबाट अनियमितता छानबिन गर्न मन्त्रालयका उपसचिव राजन नेपालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको छ । समितिलाई स्थलगत अनुगमन तथा निरीक्षण गरी सत्यतथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । छानबिन समितिले अहिले आफ्नो काम थालिसकेको छ ।
सहानीले कोषमा व्यापक आर्थिक अनियमितता भएको भन्दै विभागीय मन्त्री योगेश भट्टराईलाई पत्र लेखेर उजुरी गरेका थिए ।
कोषभित्र विदेशी र नेपालीहरुले दिएको दानबाट प्राप्त रकमले महंगो विलासी गाडी खरिद गर्न लागेको, तीन वर्षसम्म परिषद बैठक बस्न नसकेको, परिषदबाट निर्णय नै नगराइ ऐन विपरीत कोष मनोमानी ढंगबाट चलेको भन्दै साहनीले उजुरी गरेका थिए ।
त्यस्तै कोषमा अनियमितता र भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत बेनामी उजुरी परेको थियो । बेनामी उजुरीमा कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, आयोजना प्रमुख इन्जिनियर सरोज भट्टराई, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र सदस्य राजेश ज्ञवालीमाथि आरोप लगाइएको मन्त्रालय श्रोतले बताएको छ ।











प्रतिक्रिया