
नवलपरासी, १४ माघ । विद्यालयका प्रधानाध्यापकलाई स्थानियले कुटपिट गरेको आरोप लागाउदै कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै नवलपरासी प्रतापुरमा रहेको जनजागृति माध्यामिक विद्यालयका शिक्षक विद्यालय बन्द गरी जिल्ला प्रहरी कार्यालय नवलपरासी पुगेका छन् ।
विद्यालयको नाममा रहेको जग्गा प्रधानाध्यापक बाबुराम सुवेदीले स्थानिय गोविन्द यादवलाई भोगचलन गर्न नदिएको भन्दै यादव लगायतले प्रधानाध्यापक सुवेदीमाथि हातपात गरेका थिए । गत माघ ८ गते हातपात भएपछि विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै नाराजुलससहित गाउँ परिक्रमा गरेका थिए। दोषीलाई कारबाही नभएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको छुट्टै बैठक बसी सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णय गरेका थिए।
सोही निर्णयअनुसार सोमबार शिक्षकहरू विद्यालय बन्द गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगेका हुन्। विद्यालयको लेटर प्याडमा दिइएको उजुरीमा हातपात गर्ने यादव, निजकी छोरी अन्जनी र छोरा विनोदलाई कारबाहीको माग गरिएको छ। उनीहरूविरुद्ध ‘अभ्रद व्यवहार’ मा मुद्दा चलाउन माग गर्दै निवदेन दिएको प्रधानाध्यपक सुवेदीले बताए। शिक्षकहरूले दिएको उजुरीमाथि कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए।
केही वर्षअघिदेखि यादवले विद्यालयको ६ कठ्ठा ११ धुर जग्गा टेण्डरमा लिएका छन्। त्यसबाहेकको ५ कठ्ठा ३ धुर जग्गा आफ्नो रहेको यादवले दाबी गर्दै आएको प्रधानाध्यापक सुवेदीले बताए।
यादवले उक्त जग्गाको सिफारिस लिन वडा कार्यालयमा गएका थिए। वडा कार्यालयले सिफारिस दिन नमिल्ने भन्दै फिर्ता पठाएको थियो।











प्रतिक्रिया