४ कार्तिक २०८३, बुधबार

अध्यागमनमा ‘नेपाली पोर्ट’, विमानस्थलमा अब आफ्‍नै सफ्‍टवेयर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । विदेशी नागरिकको आवागमनका सूचना अद्यावधिक गर्ने आफ्नै सफ्टवेयर ‘नेपाली पोर्ट’ सञ्चालनमा ल्याइएको छ । त्रिभुवन विमानस्थलमा यसअघि विदेशी सफ्टवेयरको प्रयोग हुँदै आएको थियो । विभिन्न मुलुकले अध्यागमन सुधार योजनामा सहयोग दिने भन्दै स्वार्थपूर्ण दबाब दिइरहेका बेला नेपालले आफ्नै सफ्टवेयरमार्फत सोमबारदेखि सेवा सुरु गरेको हो ।

विभागले एक वर्ष लगाएर तयार पारेको सफ्टवेयरको सेवा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । अब अध्यागमनबाट हुने सेवामा गुनासा सुन्नु नपर्ने भनाइ उनले राखे । ‘पासपोर्ट, भिसा प्रोसेसिङ, अन्य डकुमेन्ट, नेपाली तथा विदेशीको जाँचपासलगायत समस्या सधैं सुन्नुपरेको थियो,’ उनले भने, ‘अब यस्तो समस्या सुन्नुपर्ने छैन । आफ्नै पोर्ट सञ्चालनमा आएपछि अध्यागमनमा हुने बेथितिको अन्त्य हुनेमा म विश्वस्त छु ।’ सेवा सुरु भएसँगै अब नेपाली सफ्टवेयरबाटै त्रिभुवन विमानस्थल हुँदै आवागमन गर्नेको बायोमेट्रिक जाँच हुनेछ ।

विमानस्थल र अध्यागमन विभागमा ‘फर्जरी डिटेक्सन युनिट’ (एफडीयू) को समेत स्थापना गरिएको छ । राहदानी विभागमा अभिलेख भएका विवरण, वैदेशिक रोजगार विभागको श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गरेका ‘नो अब्जेक्सन लेटर’, इन्टरपोलको सूचीमा रहेका आपराधिक व्यक्तिको विवरणसमेत नेपाली पोर्टमा समावेश हुने प्रविधिको विकास गरिएको छ । सफ्टवेयर बनाउन करिब ८० लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ । विमानस्थलको अध्यागमन कार्यालय जीर्णोद्धारमा मात्रै करिब १६ करोड खर्च भइसकेको छ ।

फरेन्सिक डिटेक्सन ल्याबको सेवा पनि नेपाली पोर्टसँगै सुरु भएको छ । विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपाली पोर्ट सञ्चालनले आफ्नै साधनस्रोत र जनशक्तिबाट प्रविधिको विकासगर्न सकिन्छ भन्ने स्थापित भएको बताए ।सन् २०१४ देखि अध्यागमनका सबै डाटा/विवरण फोकस–वान नामक संस्थाको नियन्त्रणमा थियो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।