काठमाडौं, १४ माघ । नोवल कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका दुई जना सोमबार डिस्चार्ज भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज भएकामा एक अमेरिकी नागरिक छन् । चीनबाट आएका उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना भएका थिए । शुक्रबार भर्ना भएकी ४५ वर्षीया महिलाको भने रिपोर्ट आइनसकेको सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए । उनले भने, ‘डिस्चार्ज भएका दुवै जना पूर्ण रूपमा ठीक छन् ।’
चीनको हुबईबाट घर फर्किएका प्रयोगशाला प्रमाणित नोवल कोरोना भाइरस संक्रमित ३२ वर्षीय नेपाली विद्यार्थीबाट हालसम्म कुनै अन्य व्यक्तिमा संक्रमण भएको नदेखिएको चिकित्सकहरूले बताएका छन् ।
उनलाई शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसन वार्डमा भर्ना गरेर उपचारसँगै निगरानीमा राखिएको थियो । निको भएपछि घर जान दिइएका उनी हाल जनकपुरमा छन् । ती विद्यार्थी १० दिनअघि चारदिने अस्पताल बसाइपछि डिस्चार्ज भएका थिए ।
‘ती युवक पूर्ण स्वस्थ छन् र हाम्रो निरन्तर सम्पर्कमा छन्,’ टेकु अस्पतालका निर्देशक भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले भने । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जेनेभाका अनुसार हालसम्म चीन बाहिर १० मुलुकमा २९ वटा नोवल कोरोना भाइरसको संक्रमण देखिए पनि यसमध्ये २६ जनाको चीनको हुवान जाने यात्रा इतिहास छ ।
डब्लूएचओका अनुसार हालसम्म विश्वभरमा प्रयोगशाला प्रमाणित २०१४ नोवल कोरोना भाइरसको संक्रमण देखिएको छ । यसमध्ये १९८५ वटा संक्रमण चीनमै देखिएको हो । हालसम्म यो भाइरसले ५६ जनाको जान लिइसकेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया