काठमाडौं, ८ माघ। प्रशंशा त्यति बेला मात्रै ग्रहण गर्न सकिन्छ जतिबेला बलिदानी र कर्तव्य इमान्दारिताका साथ निभाइन्छ भन्ने ठान्छन् प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौर ।
मुख्य राजमार्गसँग सम्पर्क नरहेको तर मुलुकको महत्वपूर्ण नाका भएको पर्सा जिल्लाका प्रहरी प्रमुख हुन् उनी । दक्षिणतिर भारतको रक्सौल नाका, खुला सीमा रहेका विशाल क्षेत्र उनकै कमान्डमा पर्छ ।
व्यक्ति हत्या गरी फरार, हुन्डीको अवैध कारोबार, एसीड आक्रमणजस्ता कयन काण्ड पनि पर्सामा नभएका होइनन् । जब प्रहरी प्रमुख भएर जिल्ला छिरे, एसपी राठौरले यस्ता अपराध गर्नेको सातो लिएका छन् ।
चर्चामा रहेको मुस्कान खातुनमाथिको एसीड आक्रमणकारीलाई तत्काल पक्राउ गर्नेदेखि विभिन्न अपराध गरी फरार रहेका अभियुक्तहरूलाई कानुनको ढोकामा पुर्याउने काममा राठौरको नेतृत्व सबल रह्यो । त्यो पनि ८ महिना अर्थात् २४० दिनमा ।
‘प्रहरीको कर्तव्य भनेको नै जनतालाई सुरक्षा दिने हो । यहाँ पेन्डिङ रहेका कतिपय फाइल पल्टाउँदै बस्दा अचम्म पनि लाग्छ’, राठौर भन्छन्,‘तर हाम्रो स्रोत साधनले भ्याए जति मात्र होइन त्यो भन्दा धेरै काम गर्नुपर्छ भन्ने लाग्छ ।’
उनको सोचअनुसारको काम पनि भएको छ । अझ औसतमा फरार रहेका अभियुक्त त उनले कमान्ड सम्हालेका दिनदेखि गन्ने हो भने प्रति दिन एक भन्दा बढी पक्राउ गरी कारबाहीका लागि अदालतमा पुर्याइएका छन् ।
८ महिनामा १० करोड बढी रकम राज्यको ढिकुटीमा भराउने काम गरेका उनको नेतृत्वमा १ करोड ९६ लाख ५९ हजार २ सय ४४ अवैध हुण्डीको रकम राज्य कोषमा जम्मा भयो ।
‘अवैध मार्गबाट आउने रकम यहाँदेखि परिचालन हुने रहेछ । जसले नेपालको वित्तिय क्षेत्रमा असर गरिरहेको छ । यस्ता ३६ जना भन्दा बढीलाई पक्राउ गरी कारबाही चलाइएको छ’, एसपी राठौरले सुनाए ।
औधोगिक करिडोर मात्र होइन, नेपालको सबैभन्दा ठूलो भन्सार पनि रहेको क्षेत्रमा राज्यलाई नोक्सान हुनेगरी भन्सार छलीको कामलाई न्युनिकरण गर्न उनको भूमिका प्रभावकारी रहेको भेटियो ।
‘खुला बोर्डर धेरै भएकाले विविध नाकाबाट एकाध घटना भएका पनि होलान् तर प्रहरीको निगरानी र सूचनामा आएका कुनै पनि प्रकरणलाई छूट हुने चान्स छैन’, एसपी राठौर भन्छन् ।
अबैध तरिकाले चोरी पैठारी गरी सीमा वारीपारी लुकाई छिपाईको काम नियन्त्रण गर्दा ७ करोड २४ लाख ७२ हजार ५ सय ९५ रुपैंया बराबरको तस्करीको समान राज्यकोषमा जम्मा गर्न एसपी राठौरको नेतृत्व छोटो समयमा नै सफल भयो ।
भन्सार छली गरी ल्याईरहेका २६ जनालाई तस्करहरूलाई नियन्त्रणमा लिई कारवाही समेत भएको छ ।
उनले जिल्लाको नेतृत्व सम्हालेपछि सबैभन्दा प्रभावकारी काम भएकोचाहिँ फरार अभियुक्त पक्राउ हो । बिभिन्न मुद्धामा फरार रहेका ३०६ जना अभियुक्त अहिले कानुनी दायरामा पुगेका छन् ।
प्रहरीले फरार भएका अपराधीहरू संगबाट ६८ लाख, २२ हजार २ सय ६६ रुपैया अदालतमा बिगो असुल गराएको जिल्ला अदालतको तथ्यांकमा छ ।
सीमानाका भएका कारण कतिपय अभियुक्तले नक्कली भारतीय रुपैंयाको कारोबार पनि थालेका थिए । जसलाई प्रहरीले निमिट्यान्न पार्ने कोशीश गरेको छ । कतिपयलाई पक्राउ गरी कारबाहीको दायरामा लगिएको छ ।
एसपी राठौर यस अगाडि महानगरीय अपराध महाशाखामा कार्यरत थिए ।











प्रतिक्रिया