४ कार्तिक २०८३, बुधबार

नयाँ नक्सा बनाउन कसको डर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । लिम्पियाधुरालगायत नेपाली भूभाग समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ। तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन्। संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिए पनि सरकारले छाप्न आँट गरेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवासहित सीमा अभियन्ता सम्मिलित सर्वपक्षीय भेलाले नेपालको नक्सा सच्याउने प्रतिबद्धता जनाएको थियो। भारतले भने १४ दिनमै दुइटा नक्सा बनाएको छ। उसले गत कात्तिक १६ मा काली नदीसहितको नक्सा जारी गरेको थियो। नेपालमा हल्लीखल्ली मच्चिएपछि भारतले काली नदी हटाएर नक्सा सच्याएको थियो।

त्रिभुवन विश्वविद्यालयको भूगोल विभागका पूर्वप्रमुख प्रा.डा. नरेन्द्रराज खनालले तत्काल लिम्पियाधुरासहित नक्सा प्रकाशन गरी कूटनीतिक र राजनीतिक पहल गर्न सुझाएका छन्। नेपालले अढाई महिना बित्दा पनि नक्सा छपाइको सुरसार नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन्। ‘भारतले जति खेर पनि नेपाली भूभाग मिचेको नक्सा जारी गर्न सक्छ तर नेपालले किन सक्दैन ? ’, उनी भन्छन्।

भूगोलविद् कमलचन्द्र बराल नक्सा सार्वजनिक गरी लिम्पियाधुरा दाबी गर्न सरकार डराइरहेको बताउँछन्। ‘नक्सा बनाउन सरकार किन डराइरहेको छ ? ’, उनी भन्छन्, ‘मुखले मात्रै लिम्पियाधुरासम्म हाम्रो भूभाग हो भनेर हुँदैन।’ भारतले सन् १८५६ पछि नेपाली भूभागमा आँखा लगाएको उनको भनाइ छ। उनका अनुसार पहिला नक्सा अतिक्रमण गर्‍यो, त्यसपछि भूमि अतिक्रमण। अहिले भारतले प्रशासनिक अतिक्रमण गरिरहेको उनी बताउँछन्। सन् १९६२ मा भारत–चीन युद्धपछि उसले भूमि अतिक्रमण थालेको हो।

नेपालीलाई ‘सेवासुविधा’ दिएर भारतले प्रशासनिक अतिक्रमण गरिरहेको उनको तर्क छ। ‘भारतले सडक बनाएको छ, सहुलियत–सुविधा दिएको छ, रासन कार्ड दिएको छ’, उनी भन्छन्, ‘यो प्रशासनिक अतिक्रमण हो।’

उनका अनुसार लिम्पियाधुरा मात्रै होइन, कालापानी, लिपुपास जान भारतको अनुमति र बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। सूर्यनाथ उपाध्याय नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीको मात्रै ३ सय ९५ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको छ।

ऐतिहासिक तथ्य प्रमाण खोजबिन समितिका संयोजकसमेत रहेका बराल नेपालको नक्साको ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज खोजबिन गरिरहेको सुनाउँछन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।