बेनी (म्याग्दी), २० फागुन । दुई वर्ष अगाडि म्याग्दीको सेतो हीरा भनेर व्याख्या गरिएको ‘म्याग्दीको पर्यटन गुरु योजना’ अहिले अलपत्र परेको छ ।
भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक, समाजिकलगायत विभिन्न पक्षलाई लक्षित गरेर निर्माण गरिएको गुरूयोजना सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र अवस्थामा रहेको हो ।
पर्यटन मन्त्रालय अन्तर्गतको तारा गाविस, जिविस म्याग्दी, टोड्के क्षेत्र विकास कोष म्याग्दीको संयुक्त पहलमा बेनी नगरपालिका र जिल्लाका ३५ गाविसलाई समावेश गरी रु एक अर्ब दुई करोड बराबरको गुरूयोजना सार्वजनिक गरिएको थियो ।
“सार्वजनिक गर्ने काम मात्रै भयो, गुरूयोजना अनुसार काम भएको छैन” टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहनबहादुर खत्रीले भन्नुभयो ।
पर्यटनविद् डा प्रेम शर्माको टोलीले पश्चिम क्षेत्रका १४ गाविस, मध्य क्षेत्रका १७ गाविस र उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकीलाई समेटेर गुरूयोजना तयार पारेको थियो । चारवटा पदमार्गलाई स्तरवृद्धि तथा थप १० वटा पदमार्गको विकास गरी त्यहाँको भौतिक पूर्वाधारको निर्माण गर्ने कुरा गुरुयोजनामा उल्लेख छ ।
त्यस्तै पर्यटकलाई सहज सूचना उपलब्ध गराउन सदरमुकाम बेनी, घोडेपानी, तातोपानीमा सूचना केन्द्रको स्थापना गरी म्याग्दीलाई ‘टुरिजम हब’ बनाउने कुरा समेत गुरुयोजनामा उल्लेख छ । एक घर एक रोजगार, धौलागिरी बेसक्याप, मालिकाधुरी, बागलुङ डोरपाटन हुँदै रोल्पा रुकुमसम्म गुरिल्ला पदमार्गको विकास गर्नुपर्ने योजना समावेश गरी करिब ४०० पृष्ठ लामो गुरुयोजना तयार पारिएको थियो ।
“गुरूयोजना बनाउँदा भएका भौतिक संरचनासमेत भत्किएको अवस्था छ” पर्यटनविद् शर्माले भन्नुभयो ।
स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले गुरूयोजना प्राथमिकतामै रहेको बताउँदै जिल्ला परिषद्बाट समेत बजेट प्रस्ताव गरिने बताउनुभयो ।
म्याग्दीमा वार्षिक ७० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेको तथ्याङ्क छ । रासस
















प्रतिक्रिया