४ कार्तिक २०८३, बुधबार

राजस्व संकलन सुस्त : ६ महिनामा ३८.९५ प्रतिशत मात्रै संकलन, लक्ष्य भेट्न मुस्किल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा सरकारले ३८ दशमलव ९५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

चालू आवका लागि सरकारले कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । सरकारले यो अनुपातमा लक्ष्य भेट्न अझै ६१ दशमलव ५ प्रतिशत राजस्व संकलन गर्नुपर्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

पुसको अनुमानित लक्ष्य पूरा भए पनि विगत ६ महिनादेखि अहिलेसम्मको अवधिमा लक्ष्यभन्दा कम राजस्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनीराम शर्माले पुसमा लिएको लक्ष्य भने पूरा भएको जानकारी दिए ।

चालू आवका लागि सरकारले कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमध्ये सरकारले कर राजस्वतर्फ १० खर्ब ९ अर्ब १६ करोड १८ लाख रुपैयाँ र गैरकरतर्फ कुल १ खर्ब २ अर्ब ८७ करोड १४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

पुस मसान्तसम्म ४० प्रतिशत राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सरकारले पुसको अन्तिम दिन मात्र ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले निर्धारण गरेको १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्वको लक्ष्य पूरा गरेको छ । जसमा कर राजस्वतर्फ ३ खर्ब ९१ अर्ब ९७ करोड र गैरकर राजस्वतर्फ ४१ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैगरी, आन्तरिकतर्फ ८१ अर्ब रुपैयाँ मासिक लक्ष्य निर्धारण गरिएकामा ७५ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ । ठूला करदाता कार्यालय र मध्यमस्तरीय कार्यालय दुवैको संकलन लक्ष्यभन्दा कम रहन गएपछि यसको असर समग्र राजस्व संकलनमा परेको हो । राजधानी दैनिकले खबर छापेकाे छ ।