काठमाडौं, ३ माघ । सरकारले विभिन्न समयमा नियन्त्रणमा लिइएको रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति दिएको छ । गत २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको बाटो हुँदै अन्य मुलुकमा तस्करी गर्ने क्रममा बरामद गरिएको रक्तचन्दन भारत फिर्ता लैजाने निर्णय गरेको हो ।
रक्तचन्दन काठ जे–जस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट भारत फिर्ता लैजान स्वीकृति दिइएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । साइटिस सन्धिको आर्टिकल ८ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा २ र ३ अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति जहाँ बरामद गरिए पनि उत्पत्ति भएको मुलुकलाई फिर्ता दिनुपर्ने व्यवस्था छ । सोहीबमोजिम नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई सो रक्तचन्दन लैजान स्वीकृति दिएको मन्त्री बाँस्कोटाले बताए ।
अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान भए पनि लामो समयदेखि नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको सुरक्षा र व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ ।
सरकारले पटक–पटक ताकेता गरे पनि भारतले फिर्ता लगेका छैनन् । भारतको आन्द्रप्रदेश, महाराष्ट्र तथा कर्नाटक राज्यमा पाइने भए पनि नेपालको बाटो हुँदै अवैध कारोबार हुने रक्तचन्दत वन विभाग र अन्य जिल्लामा सुरक्षा दिएर राखिएको छ ।
नेपालमा हालसम्म २ लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन समातिएकामा अहिले १ लाख ७३ हजार १७ किलो रक्तचन्दन अझै नेपालमै छ । पक्राउ परेकोमध्ये ३६ हजार ९ सय २८ किलो भारतले जिम्मा लिएको र बाँकी १९ हजार ३ सय २४ किलो हराएको विभागले जनाएको छ ।
नेपालका चितवन, सर्लाही, झापा, नवलपरासी, ताप्लेजुङ, कपिलवस्तु, सप्तरी, गोरखा र काठमाडौंलगायत २० जिल्लाबाट रक्तचन्दन बरामद भएको थियो । यसको माग तिब्बतमा बढी भएको भन्दै पूर्वी नाकाबाट बढी चोरीनिकासी हुँदै आएको छ । यसको तस्करीमा ठूला गिरोह संलग्न रहेको प्रहरीको दाबी छ । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया