
बागलुङ, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित अखिल नेपाल महिला संघका केन्द्रीय संयोजक अमृता थापा मगरले राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अबको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित गर्नु पर्नेमा जोड दिएकी छन् ।
अखिल नेपाल महिला संघ बागलुङले बिहीबार बागलुङ बजारमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै संयोजक थापाले सरकारले ल्याएको सुखी नेपाली : समृद्ध नेपालको अभियान सफल पार्न पार्टीका भातृसंगठनहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिइन् ।
सरकारले दीर्घकालीन योजनाका साथ काम गरिरहेको भन्दै उनले सरकारले गरेका राम्रा काम जनताका बीचमा पुर्याउने जिम्मेवारी कार्यकर्ताहरुको भएको बताइन् ।
सरकारलाई असफल बनाएर अस्थिरता निम्त्याउन चाहनेहरुका योजना पुरा हुन नदिन पार्टीका सम्पूर्ण पंक्तिलाई सक्रिय बनाउनु पर्ने उनको भनाइ थियो ।
संविधानले राज्यको सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ, पार्टी लगायत सबै ठाउँमा संविधानको व्यवस्था कार्यान्वयन गराउने र आगामी दिनमा ५१ प्रतिशत सहभागिताका लागि जुट्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले महिलाहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्दै समाज रुपान्तरणका अभियान अगाडि बढाउन आवश्यक रहेको बताइन् ।
पार्टीले जिल्लास्तरमा सञ्चालन गर्ने कार्यक्रमहरु सक्रिय सहभागिता हुनुका साथै नेतृत्व लिनका लागि महिलाहरु सदैव तत्पर हुनु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य ममतादेवी शर्माले पार्टी एकीकरण अभियानलाई छिटो भन्दा छिटो टुंगोमा पु¥याइ सबै नेता कार्यकर्तालाई जिम्मेवारी दिएर पार्टी अभियान अगाडि बढाउनु पर्ने बताएकी थिइन् । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कुसुम बुढाले गरेकी थिइन् ।
यसैबीच सोही कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालको हालै ललितपुरमा सम्पन्न २७ औं वार्षिक साधारणसभाबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुमा कुमारी जिसी (अञ्जु) लाई वधाई ज्ञापन गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभाग प्रमुख जिसीलाई प्रमुख अतिथि अमृता थापा मगर, पार्टीका जिल्ला इन्चार्ज बलावती शर्मा लगायतले वधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।















प्रतिक्रिया