काठमाडौं, २ माघ । नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आन्तरिक विवाद चुलिरहेकै बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मिति तोकेपछि नयाँ तरंग देखिएको छ ।
सत्ताढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एकताको लामो समयपछि विवादबीच केन्द्रीय कमिटी घोषणा भएको छ । अहिले केन्द्रीय कमिटी गठनलाई लिएर अनेरास्ववियुभित्र विवादसमेत सिर्जना भएको छ ।
नेविसंघको सांगठनिक अवस्था भद्रगोल देखिएको छ । नेवि संघ कमिटीलाई लिएर माउ पार्टी कांग्रेसमा तीव्र विवाद भइरहेको छ । केन्द्रीय कमिटी लामो समयदेखि भद्रगोल अवस्थामा छ भने नेतृत्व विषयमा पार्टीभित्रै विवाद जारी छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालनिकट राष्ट्रिय विद्यार्थी संघ (रावि संघ)मा पनि तीव्र विवाद भइरहको छ । ६ पार्टी मिलेर राजपा घोषणा भए पनि रावि संघको सांगठनिक एकीकरण अझै भएको छैन ।
केन्द्र, प्रदेश, जिल्लादेखि इकाई कमिटी अवस्था लथालिङ रहेको छ । गत सातामात्रै इकाइ कमिटी नेतृत्वलाई लिएर बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयभित्रै विद्यार्थीले टायर बालेर प्रदर्शन गरे । राविसंघको अवस्था पनि भद्रगोल देखिन्छ ।
यसैगरी, समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन (सवि युनियन)को सांगठनिक अवस्था पनि उस्तै छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएर सवि युनियन घोषणा भए पनि प्रदेश, जिल्ला तथा इकाई कमिटी एकिकरण अझै टुंगो लाग्न सकेको छैन । सवि युनियनमा समेत नेतृत्वलाई लिएर विवाद छ ।
यसअघि, विद्यार्थी संगठनले माग गरेपछि स्ववियु निर्वाचन घोषणा हुन्थ्यो । तर, अहिले विद्यार्थी संगठनले माग नगर्दै एकाएक त्रिवि परिषद्को गत बुधबार बसेको बैठकले आगामी १४ फागुनमा स्ववियु निर्वाचन घोषणा गरेको हो ।
विद्यार्थी संगठनभित्र विवाद भए पनि स्वावियु निर्वाचनमा सहभागी हुने उनीहरूले बताएका छन् । निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउँदै जसरी पनि विजयी हुने गरी आन्तरिक तयारीमा विद्यार्थी संगठन जुटेका छन् ।











प्रतिक्रिया