काठमाडौँ, २० फागुन । होली पर्व नेपालीहरुको महान पर्व हो । विशेषगरी हिन्दु धर्मालम्वीहरुको विशेष चाँड हो । पछिल्लो समय होलीमा विकृत फैलिन थालेपछि प्रशासनले कडाई गरेको छ ।
राजधानी लगायत देशैभरीका प्रशासन कार्यालयले होलीमा विकृति फैलाउनेलाई कारवाही गर्ने रणनीति बनाएका छन् । गृह मन्त्रालयको आदेश अनुसार देशैभरीका प्रशासन कार्यालयले होलीलाई सामाजिक परम्परा अनुसार मनाउनका लागि यस्तो रणनीति बनाएका हुन् ।
राजधानी लगायतका देशैभरी होलीमा लोला हान्ने, जबरजस्ती रङ फाल्नेहरुलाई कडा कारवाही गर्ने गृह मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरेर जनाएको छ ।
जसअनुसार जरिवाना सहित जेल सम्मको सजाय पनि दिईने छ । होलीमा लोला हान्ने, जबरजस्ती रङ फाल्नेहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा लगाएर २ वर्षको जेल १ लाख सम्म जरिवाना तिराईने छ ।
होली पर्वका अवसरमा इच्छा विपरीत जबरजस्ती रङ दल्ने, लोला हाल्ने, फोहर पानी छ्याप्ने, बाटोमा हिँड्नेलाई अनावश्यक दुःख दिनेलगायतलाई कानुनबमोजिम कारबाही हुनेभएको हो ।
त्यस्तो कार्य कानुन विपरीत भएको भन्दै गृह मन्त्रालयले सर्वसाधारणले वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयातसमेत नगर्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।
















प्रतिक्रिया