३० आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थमा यसरी हुन्छ पानीको मिसावट, प्रारम्भिक छानबिन सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aayal nigam

काठमाडौँ, २० फागुन । नेपाल आयल निगमले वितरण गरेको पेट्रोलियम पदार्थमा आवश्यक मात्रामा प्रज्वलनशील पदार्थ नभएको पाइएपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले छानबिन सुरु गरेको छ ।

विभागले निगमलाई पत्र पठाएर सात दिनभित्र सत्यतथ्य जानकारी गराउन निर्देशन दिएको छ । निगमले बिक्री वितरण गरेको पेट्रोलियम पदार्थमा पानीको मात्रा भेटिएको र प्रज्वलनशील पदार्थको मात्रा कम भएको पाइएको थियो । विभागले विभिन्न पम्पबाट सङ्कलन गरेको नमुनाको परीक्षण गरिरहेको छ ।

परीक्षणका क्रममा न्यून गुणस्तर भएको पाएपछि विभागले सोमबार पत्र काटेर सत्यतथ्य जानकारी गराउन निर्देशन दिएको विभागका प्रवक्ता हरि बेल्वासेले जानकारी दिनुभयो । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले विभागको प्राप्त भएको जानकारी दिनुभयो ।

निगमले भने पेट्रोलियम पम्पले बदमासी गरेको हुन सक्ने बताएको छ । लामो समयसम्म पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्याङ्कीको सरसफाइ नभएका कारण पानीको मात्रा भेटिएको हुन सक्ने निगमले बताएको छ ।

निगम प्रवक्ता घिमिरेले विभागको पत्र प्राप्त भएको जानकारी दिँदै आफूहरुले सूक्ष्म अध्ययन गरिरहेको बताउनुभयो । ‘‘विभागले सङ्कलन गरेको नमुनामा पानीको मात्रा बढी पाइएकाले सचेत गराइएको सही हो, हामीले आन्तरिक रुपमा पनि अध्ययन गरिरहेका छौँ, त्यसबाट के नतिजा आउँछ सोही आधारमा नै कारबाहीको प्रक्रिया अगाडि बढ्छ’’ घिमिरेले भन्नुभयो ।

विभागले भने निगमले वितरण गरेको पेट्रोलियम पदार्थमा उपभोक्तालाई ठगी गरेको जनाएको छ । गुणस्तरहीन पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु सोझै ठगी गर्नु नै हो, यसमा निगम गम्भीर हुनुपर्ने भन्दै निगमलाई सचेत गराएको छ ।

निगमसँगै डिजेल ढुवानी भएको ट्यांकरधनी र उक्त डिजेल बिक्री गर्ने पम्प सञ्चालकलाई पनि बयानका लागि विभागले पत्र काटेको छ । यसअघि पनि विभागले माघ २९ गते बजार अनुगमन गर्नेक्रममा राजधानीमा मिसावटयुक्त डिजेल फेला पारेको थियो ।

डिजेलमा सेतो पदार्थ मिसिएको भेटिएपछि परीक्षणका लागि गुणस्तर तथा नापतौल विभाग पठाइएकामा विभागले डिजेलको गुण उक्त पदार्थमा नभएको प्रतिवेदन फागुन १२ मा दिएको थियो ।