काठमाडौं, २० फागुन । होली पर्वमा उपत्यकालाई दुर्घटनारहित बनाउन महानगरीय ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक सुरक्षा योजना बनाएको छ।
होली सुरक्षाका लागि उपत्यकालाई विभिन्न चारवटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा डिएसपीको नेतृत्वमा विशेष सुरक्षा टोली परिचालन गर्न लागेको हो।
होलीको समयमा मापसे गरी सवारी हाँक्ने, लापरबाही गर्ने, क्षमता भन्दा बढी राखेर सवारी चलाउने जस्ता कार्य गर्दा विगतमा धेरै दुर्घटना भएको भन्दै यसपटक बिहानै देखी सवारी चेकजाँचमा कडाई गर्ने भएको छ।
यसका लागि महाशाखाले उपत्यकाका सबैजसो सवारी रुटहरुलाई समेटेर ५३ स्थानमा ट्राफिक चेक प्वाइन्ट स्थापना गर्ने भएको नागरिक दैनिकले छापेको छ।
महाशाखाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सबै चेकपोष्टमा गरी ५ सय ५० भन्दा बढी ट्राफिक प्रहरी खटिने छन्।
उनका अनुसार दुई सिफ्टमा सञ्चालन हुने ती चेक पोइन्टहरुमा ट्राफिक प्रहरी अधिकृतको कमान्डमा कम्तीमा ५ जना ट्राफिक प्रहरिहरु एउटा पोइन्टमा खटिने छन्।
यसबाहेक ७ वटा मोवाइल गाडीहरुले समेत निरन्तर रुपमा चेक पोइन्टहरुलाइ सपोर्ट गर्नुको साथै उपत्याकाभरमा मोवाइल गस्ती गरिनेछ।
महाशाखाले होलीका दिनमा मापसे गरी सवारी चलाउने, तीब्र गतीमा सवारी चलाउने, हेलमेट नलगाइ दुइपाङ्ग्रे सवारी चलाउने, आभरलोड वा मोटरसाइकल लगायतमा २ जना भन्दा बढी मानिस राखी सवारी चलाउने, ठुलो हर्न र ठुलो आवाजमा चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकलहरुलाई मोडीफाइ गरी चलाउने र अन्य गम्भीर खालका लापर्वाही गर्नेलाई विशेष निगरानी गरी कारवाही गर्नेछ।















प्रतिक्रिया