काठमाडौँ, १९ फागुन । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पार्टी पदाधिकारी बैठकले संविधानसभाको प्रक्रिया अगाडी बढाउनका लागि सत्ता साझेदार नेकपा एमालेसंग छलफल गर्ने निर्णय गरेको छ ।
एमालेले प्रक्रियामा नआए सरकार छाड्ने चेतावनी दिएपछि कांग्रेस प्रक्रिया बढाउन लचिलो भएको हो । कांग्रेस बैठकले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा सहमतिमा आउन नचाहेको निष्कर्ष समेत निकालेको छ ।
सहमति मात्रै भन्ने वार्तामा नबस्ने प्रवृतिले एमाओवादी मोर्चा सहमतिमा आउनै नचाहेको बैठकको निष्कर्ष छ । कांग्रेसले एमालेसंग सहकार्य गरेरै प्रक्रिया अगाडी बढाउने मनस्थिती बनाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको संविधान निर्माणको प्रक्रिया र त्यसका लागि दलहरुबीच भएका सहमतिका प्रयासबारे अनौपचारिक छलफल भएको हो । पार्टी सहमहामन्त्री पूर्णबहादुर खड्काका अनुसार सहमतिका लागि भइरहेका अनौपचारिक छलफलबारे समीक्षा भई दलहरुबीच सघन वार्ता बढाउने विषयमा बैठक केन्द्रित थियो ।
दलहरुसँग सघन वार्ता चलाउने सिलसिलामा आजै नेकपा एमालेसँग छलफल हुन गइरहेको उहाँले जानकारी गराउनुभयो । एमालेसंग सरकार छाड्ने विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री खड्का, सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, कानुन मन्त्री नरहरि आचार्य, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र नेता शेखर कोइराला उपस्थित हुनुहुन्थ्यो ।
















प्रतिक्रिया