५ कार्तिक २०८३, बिहिबार

संसद् बन्धक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । जहाज चढ्न ‘एयरपोर्ट टाइम’ भइसकेको संकेत सचिवालय सदस्यले गराएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘टिकट रद्द गर्नु, म बिहान मात्र काठमाडौं जान्छु।’ बिहीबार तीन बजे भरतपुरबाट काठमाडौं आउने जहाजको टिकट लिएका दाहालले साढे दुई बजे मात्र टिकट रद्द गर्न लगाएका थिए।

दाहालले काठमाडौं फर्कने कार्यक्रम रद्द गरेको जानकारी पाएपछि सत्तासीन नेकपाका नेताहरू ‘सशंकित’ बने। दुई अध्यक्ष बसेर बिहीबार नै सभामुखको टुंगो लाग्ने लख काटेका उनीहरू ‘गडबड’ भएको निष्कर्षमा पुगे।

सत्तासीन नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने विश्वासमा संसद् सचिवालयले सभामुख निर्वाचन मिति घोषणाको सम्भावित कार्यसूची बनाइसकेको थियो।

शुक्रबार बिहान १० बजे मात्र पार्टी अध्यक्ष दाहाल काठमाडौं फर्केपछि दुई अध्यक्षबीच छलफल हुन बाँकी रहेको भन्दै संसद् बैठक सार्न उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सन्देश पठाइयो।

उपसभामुखको निर्देशनअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले पुस १६ गतेका लागि बैठक सरेको सूचना प्रकाशित गरे। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले नै सभामुख उम्मेदवार टुंगो नलगाउँदा हिउँदे अधिवेशनको दोस्रो बैठक सूचनाद्वारा स्थगित गरियो। जनताका आवाज बोल्ने स्थान (संसद्) नै बन्धक बन्यो। ‘दलीय झगडाका कारण संसद् बन्धक बनाइनु उचित होइन,’ विपक्षी कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्।

पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको दोस्रो (शुक्रबार) को बैठकको कार्यसूची नै सभामुख निर्वाचन मिति घोषणा गर्ने थियो। सचिवालयले पुस १३ गते मनोनयन दर्ता गर्ने र १४ गते सभामुख निर्वाचन गर्ने कार्यतालिकासमेत बनाएको थियो। तर सूचनाद्वारा बैठक स्थगित भएका कारण सचिवालयले बनाएको कार्यसूची अलपत्र प¥यो।

पार्टी अध्यक्ष दाहाल बिहीबार चितवनमा रहँदा पूर्वमाओवादीका नेताहरूले टेलिफोन गरेर सभामुख पद पूर्वमाओवादीले नै लिनुपर्ने दबाब दिएका थिए। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा सभामुख पद कुनै पनि हालतमा पूर्वमाओवादीकै भागमा पार्न दाहालमाथि नेताहरूको दबाब थियो। पार्टी महाधिवेशनसम्म विगतमा भएको भागबण्डाअनुसार चल्नुपर्ने, सबै संवैधानिक अंगको नेतृत्व पूर्व एमालेको हातमा दिन नहुने भन्दै पूर्व माओवादीका नेताहरूले दाहाललाई टेलिफोनमार्फत दबाब दिएको स्रोतले बतायो। लगत्तै दाहालले काठमाडौं फर्कने कार्यक्रम रद्द गरेका थिए।

पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले दाबी गर्दै आएका छन। प्रधानमन्त्री केपी ओली भने पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।