
काठमाडौं, ९ पुस । काठमाडौंमा पक्राउ गरिएका १२२ जना संदिग्धले चीनका धनाड्य परिवारका महिला र पुरुषलाई आर्थिक हिसाबले लुट्नका लागि नेपाललाई सेल्टर बनाएर बसेको खुलेको छ ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुख डिआइजी निरज शाहीले अनुसन्धानका क्रममा सो विषयको खुलासा भएको बताए । इन्टरपोल अन्तर्गत चिनियाँ प्रहरीसँगको सहकार्यमा यो मिशनमा नेपाल प्रहरीको अप्रेशन सफल भएको थियो ।
यस अप्रेशनको नाम थियो– चार्ली फोक्सर ।
यसलाई सफल बनाउन नेपाल प्रहरीले खेलेको भूमिका देखाएको उत्कृष्ट कामका लागि चिनियाँ प्रहरीले धन्यवाद पनि दिएको छ ।
‘पर्यटक भिसामा आएका यीनिहरूले चीनका धनाड्य परिवारसँग प्रेमलिला रच्ने र अनलाइनमार्फत लगानी गर्न प्रेरित गरेको खुल्यो’, पत्रकार सम्मेलनमा शाहीले भने,‘पैसा पाउनासथ त्यस्ता धनाड्यसँगको सम्पर्कबाहिर पुग्ने गरेको पनि बुझियो ।’
उनका अनुसार नेपाल र चीनको इन्टरपोल इकाईले निक्कै लामो अध्ययन गरेपछि अप्रेशन चलाइयो र सफल भयो ।
चीनका धनी महिला तथा पुरुष पहिचान गरी प्रेम जालमा फसाउने र उनीहरूको रकम लगानी गर्न लगाएर गायब हुने गर्दथे ।
पक्राउ परेका एक सय २२ चिनियाँ मध्ये एक सय १४ जना पुरुष र आठजना महिला छन् ।
उनीहरुलाई काठमाडौंको बुढानिलकण्ठ, मनमैजु र बाँसबारी क्षेत्रका नौ वटा घरबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट तीन सय ३१ वटा ल्यापटप, सात सय ४७ वटा मोवाइल फोन सेट र तीन सय २७ वटा सीमकार्ड बरामद भएको छ । उनीहरुबाट राहदानी चाहिँ ६७ वटा मात्र बरामद भएको उनले जानकारी दिए । एनसेल र स्मार्ट सेल फोन सेवा प्रदायकको ४८ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड र चार लाख २४ हजार नेपाली रुपैयाँ पनि बरामद भएको छ ।
‘अनलाइनमार्फत व्यापारका लागि मैसा मगाउने काम भएको रहेछ । प्रेमी प्रेमिका बनेर यसरी लगानीका नाममा लाखौं रकम झिकाउने काम पनि भएको रहेछ’, प्रहरीले भन्यो ।











प्रतिक्रिया