१० मंसिर २०८३, बिहिबार

सशस्त्र डिआईजी श्रेष्ठ राजनीतिक लविङमा लागेको आरोप

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । मन्त्रिपरिषद्को बैठकमा सशस्त्र प्रहरी बलको एआईजी पद थप्ने विषयले प्रवेश नै नपाएपछि प्रवक्ता तथा डिआईजी सूरज श्रेष्ठको आईजी बन्ने चाहनामा ठेस लागेको छ ।

यद्यपि, राजनीतिक लविङका आधारमा एआईजी नभए पनि डिआईजीको पदावधि थप्नका लागि उनको जोडबल रहेको आरोप लागेको छ । त्यसका लागि उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत लविङ गरिरहेको स्रोतको आरोप छ ।

डिआईजीको ५ बर्षको पदावधि सशस्त्रमा रहेको छ । श्रेष्ठको पदावधि आगामी १६ पुसमा सकिँदैछ ।

डिआईजीको पदावधि थपिए एआईजी बन्ने र पछि आईजीका लागि सजिलो हुने भएपछि एक बर्ष कार्यकाल थप्न श्रेष्ठको लविङ तिव्र रहेको सशस्त्र स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीको संख्या बढाउने, पोस्टहरू बढाउने निर्णय गरे पनि उच्च तहको पद संख्या नबढाउने निर्णय गरेको थियो । यसअघि नै शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला सशस्त्रमा एआईजीको संख्या धेरै थियो । हाल पनि एक जना एआईजीको संख्या बढी रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एआईजी पद नथप्न निर्देशन दिएको बताइएको छ ।

यद्यपि पदावधि बढाउनका लागि श्रेष्ठले नियमावली संशोधनको अर्को विकल्पलाई अघि बढाउन राजनीतिक लविङ गरेको आरोप लागेको हो ।

मन्त्रीपरिषदबाट सशस्त्र प्रहरी नियमावली संसोधन भएर डीआईजीको पदावधि ६ बर्ष भएमा डीआईजी श्रेष्ठसंगै बाबुराम पाण्डे र अरबिन्द धितालको जागिर पनि थप एक बर्ष लम्बिन्छ ।

त्यसो हुँदा डीआईजीहरु खड्क राई, मन्दीप श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल र प्रवीण श्रेष्ठको आईजीसम्म पुग्ने यात्रामा असर पुग्न सक्ने बताइएको छ ।

देउवा सरकारका पालामा एआईजीको पद थप गर्दा श्रेष्ठले फारम भरेका थिएनन् । उनका ब्याची राजेश श्रेष्ठ भने फारम भरेका कारण एआईज ीबनेका थिए ।

केपी ओली नेतृत्वको यहि सरकारले दरबन्दी कटौती गरेर सशस्त्रमा कायम गरिएको दुई एआईजीको दरबन्दीमा अहिले पनि तीन एआईजी कार्यरत छन् । एआईजी दरबन्दी रहेको एकेडेमीमा पुष्पराम केसी र मानवस्रोत तथा प्रशासन विभागमा रामशरण पौडेल कार्यरत छन् । एआईजी नारायणबाबु थापा कार्यरत कार्य तथा सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी छैन ।

नेकपामा सरकार र पार्टीको कामकारबाही नै बाँडफाँट गरिसकेको र अध्यक्ष प्रचण्ड पार्टी काममा व्यस्त छन् । श्रेष्ठले प्रचण्डमार्फत पदावधि थप्ने प्रयास गरेको भन्ने विषयमा कुनै सत्यता नरहेको खुमलटार स्रोतले जनाएको छ । यता प्रधानमन्त्री ओलीले भने एआईजी थप्नुपर्ने आवश्यक देखेनन् भने भएको नियमावली संशोधनको खाँचो नरहेको बताउँदै आएका छन् ।