काठमाडौं, ९ पुस । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन शुरु गरेका छन् ।
यसअघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका हुन् ।
मेयर शाक्यले आफू निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको जानकारी दिए ।
‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’ उनले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने पनि बताए ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, वडाध्यक्ष शुद्धकुमार ढंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख डाक्टर उत्तरकुमार रेग्मी र वडाका सरोकारवालाहरुसहित अनुगमनका क्रममा मेयर शाक्यसँग स्थानीयले विभिन्न खाले गुनासा गरेका थिए भने मेयर नै विकास निर्माणको कामवारे जानकारी राख्दै घर–दैलोमा आएको भन्दै धेरैले खुशी व्यक्त गरेका थिए ।
मेयर शाक्यसहितको टोलीले महानगरपालिका दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाललगायतका स्थानको अनुगमन गरेको थियो ।
लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै मेयर शाक्यसँग गुनासो गरेका थिए । केहीले घर अगाडि नै विजुलीका तारहरु अलपत्र पारेको, निर्माणकार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोस व्यक्त गरेका थिए ।
अनुगमनकै क्रममा भेटिनुभएका मैजु बहाल चक्रपथ सडक सुधार तथा ढल निर्माण अनुगमनसमितिका संयोजक समेत रहनु भएका पूर्व डिआइजी रवीन्द्र पण्डितले मेयरसहितको टोली आफ्नो टोलमा अनुगमनका लागि आएकोमा खुशी व्यक्त गरे ।
‘पहिला यहाँको बाटो ६ मिटर भन्दा सानो थियो । अहिले यहाँका सडक विस्तार गर्ने क्रममा केही विग्रिएका छन् । अबको केही महिना भित्रमा यहाँका सबै सडक कालोपत्रे होलान भन्ने हामीले अपेक्षा गरेका छौँ’, पण्डितले भने, ‘सडक वत्ती सार्नेलगायतका काममा सम्वन्धित निकायले त्यति ध्यान नदिदा थप समस्या भएको छ । आज मेयरज्युलगायतको टोलीले अनुगमन गरेपछि सम्वन्धित निकायको ध्यान जानेछ भन्नेमा हामी ढुक्क छौँ ।’
उनले महानगरपालिकाले ७ करोड बजेट दिने भएपछि आफूहरु उत्साहित भएर काममा लागेको भन्दै यस्ता खाले अनुगमन समय–समयमा गर्न आग्रह गरे ।











प्रतिक्रिया