१ कार्तिक २०८३, आइतबार

परिवारसँग विवाद भएर कोरिया हिँडेका ३७ युवा विमानस्थलबाट फिर्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIA-Nepalकाठमाडौं, १९ फागुन । जनही आठ लाख रुपियाँ उठाएर कामका लागि भन्दै दक्षिण कोरिया पठाउन लागिएका ३७ जना नेपाली विमानस्थलबाट फर्काइएपछि उनीहरू ठगिएको खुलेको छ।

म्यान पावर कम्पनी र वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतोमा उनीहरू ठगिएका छन्।

नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयबाट श्रम स्वीकृति दिलाएर फागुन १४ गते दक्षिण कोरियातर्फ जान लागेका उनीहरूलाई विमानस्थलबाट फर्काइएपछि ठगीको रहस्य खुलेको हो। यसबारे वैदेशिक रोजगार विभागमा उजुरी परेको छ।

नयाँ बानेश्वरस्थित युनाइटेड एचआर कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टरले दक्षिण कोरियाका तीनवटा पानीजहाज कम्पनीमा कामका लागि पठाइदिने आश्वासन दिएर उनीहरूबाट जनही आठ लाख उठाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

कन्सल्टेन्सीले पेस गरेका नक्कली कागजका आधारमा विभागको काठमाडौं कार्यालयले श्रम स्वीकृति दिएको थियो। नेपाल र कोरिया सरकारबीच भएको श्रमसम्झौतामा ईपीएस प्रणालीअन्तर्गत मात्र नेपाली कामदार कोरियामा पठाउने व्यवस्था छ।

वैदेशिक रोजगार विभागको नाममा एभरेस्ट बैंकमा रहेको ००१०११०२२०००४७ नम्बरको खातामा श्रम स्वीकृति लिँदा लाग्ने रकम जम्मा भएको छ। उक्त कन्सल्टेन्सीले कामदार र कोरियाली कम्पनीसँग कथित सम्झौतासमेत गराएको छ।

सम्झौतामा प्रत्येक कामदारले प्रतिमहिना १२ सय ५० अमेरिकी डलर पारिश्रमिक र एक सय डलर अतिरिक्त सुविधा पाउने उल्लेख छ।

दक्षिण कोरियाका हानहुल, सिपिङ बैंक सिओल र पेन हुल नामका तीन कम्पनीले रोजगारी सुनिश्चित गरेको भन्दै त्यो कन्सल्टेन्सीले ती ३७ जनाबाट पैसा उठाएको थियो।

कन्सल्टेन्सीले कामदारलाई दिने अनुभवको प्रमाणपत्र पनि नक्कली बनाएको छ।

उसले मुम्बईस्थित सेभेन सी नेभिगेन कम्पनीको नक्कली प्रमाणपत्र बनाएर दिएको थियो।

ठगिएकामध्ये एक ओखरकोट प्युठानका दीपेन्द्र पोखरेलले आफूहरूको फसेको रकम फिर्ता हुनुपर्ने बताए। ‘व्यक्तिगत श्रम स्वीकृतिसमेत विभागका कर्मचारीसँगको सेटिङमा दलालले नै लिइदि’, उनले भने, ‘रकम फिर्ता र दोषीलाई कडा कारबाही हुनुपर्ने हाम्रो माग हो।’

त्यस्तै पाल्पाका खिमबहादुर पछाईले दलालले भनेजति पैसा दिएर पनि उड्न नपाउँदा घर न घाटको भएको बताए। उनले भने, ‘हामीहरू कोरिया जाने भन्दै घरपरिवारसँग बिदा भएर आएका छौं। अब कुन मुख लिएर घर फर्कनेरु पैसा पनि डुब्यो, कोरिया जान पनि पाइएन।’

आफूहरूलाई विभागका कर्मचारीसँगको मिलेमतोमा उक्त कन्सल्टेन्सी सञ्चालक शारदाकुमार मगर, प्रकाश तिवारी, दानबहादुर पुन र अप्सरा श्रेष्ठले फसाएको ठगिएकाहरूले बताए।

सञ्चालकमध्ये अप्सरालाई शुक्रबार उनकै कार्यालबाट प्रहरीले पक्राउ गरेको छ।

बयानका क्रममा उनले आफू कर्मचारीमात्र भएको र कसैबाट पैसा नउठाएको जिकिर गरेकी छन्।

ठगिएका शंकर गुरुङले अप्सराले नै सबैभन्दा बढी रकम उठाएको दाबी गरे।

ठगिने अन्यमा अविनाश पोखरेल, शिवकुमार बस्नेत, विज्ञान बस्नेत, आकाश वली, सुरेन्द्र खड्का, राजबहादुर घले, शिवम्कुमार कटुवाल, शंकर गुरुङ, रोशन राई, निमा तामाङ, रुद्रबहादुर अधिकारी, नगेन्द्र परियार, राजन राई, सरोज पाण्डे, राजु रावललगायत छन्।