१० मंसिर २०८३, बिहिबार

ह्याकरमाथि आईजी खनालको एक्सनको अन्तरकथा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ८ पुस । महानगरीय अपराध महाशाखाको प्रमुखको जिम्मेवारी पाउनसाथ हालका आईजी सर्वेन्द्र खनालले बैंकिङ क्षेत्रमा भएको आक्रमणलाई नियन्त्रणको दिशामा अघि बढाएका थिए ।

त्यो शिलशिलालाई उनले आईजी भए पश्चात अझ बलियोगरी अघि बढाएका छन् । त्यसैको थप परिणाम हो सोमबार प्रहरीले ठूलो संख्यामा पक्राउ गरेका विदेशी नागरिक ।

प्रहरीले काठमाडौंको बाँसबारी, ठमेल, मनमैजु, बुढानिलकण्ठलगायत विभिन्न स्थानबाट विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि वित्तिय अपराध गरेको आशंकामा अनुसन्धान जारी रहेको छ । झन्डै सय जनाको संख्यामा पक्राउ गरिएकाहरूमाथि गरिएको आशंका पुष्टि भए मुद्दा चलाउने र नभए छाडिदिने तयारी प्रहरीले गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले अनुसन्धानको नेतृत्व गरेको हो । ब्युरोका प्रमुख डिआइजी निरजबहादुर शाहीको नेतृत्वमा भएको अप्रेशनलाई महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको सहयोग रहेको छ ।

घरै भाडामा लिएर शंकास्पद गतिविधि गर्ने विदेशीको संख्या धेरै रहेको रिपोर्ट आईजी खनाललाई भएपछि उनले अनुसन्धानका लागि अनुमति दिए ।

वित्तिय क्षेत्र नै विगार्नका लागि विदेशीको चलखेल धेरै भएकोप्रति आईजी खनाल चिन्तित छन् । उनले यस्ता अपराधलाई निमिट्यान्न पार्ने प्रण नै गरेका छन् ।

विदेशीले बैंक ह्याकिङमात्र होइन, महालेखा नियन्त्रकको कार्यालयको सिस्टम पनि ह्याक गरेका छन् । जसको अनुसन्धानका लागि सीआईबीलाई सक्रिय बनाइएको छ ।

‘नेपाल सरकारका कतिपय महत्वपूर्ण कार्यालयको सिस्टम ह्याकमा पनि विदेशीको खेल भएको शंकापछि प्रहरी सक्रिय भएको हो’, प्रधान कार्यालय स्रोतले भन्यो ।

त्यसो त वित्तिय क्षेत्रमा भइरहेका आक्रमणप्रति आईजी खनाल चिन्तित थिए । यसको नजीर हालै मात्र गरिएका कतिपय अप्रेशनले तय गरेकै थियो ।

भदौमा बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट बैंक ह्याक गरिएको १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो ।

यस्तै विदेशी नागरिक पिटर काले भन्नेको नेतृत्वमा कृषि विकास बैंकको खातामार्फत करोडौं रकम विदेश लैजाने चलखेलमा पनि प्रहरीले हस्तक्षेप गरी कतिपयलाई कारबाही चलायो । यसको नेतृत्व महानगरीय अपराध महाशाखाले गरेको थियो । दुई दर्जन भन्दा बढी पिटरका सहयोगीलाई पक्राउ गरी कारबाही चलाइएको छ ।

नेपालमा हुने साईबर अपराधलाई नियन्त्रण गर्नका लागि नै आईजी हुनासाथ खनालले साईबर व्युरो गठनमा विशेष ध्यान दिए । त्यसबाहेक पनि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र महानगरीय अपराध महाशाखालाई पनि चलायमान बनाउने उनको निर्देशनले काम गरेकै कारण अप्रेशन जारी छन् । त्यसैको परिणाममा सोमबार विभिन्न ठाउँबाट चिनियाँ नागरिकसहितका विदेशी पक्राउ परेका हुन् ।

‘नेपालको बैंकिङ क्षेत्र तहसनहस बनाउनका लागि आएका विदेशी हुन् वा देशी अभियुक्त तिनलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा लैजानका लागि आईजी साबको सिधा आदेश छ’, एक अधिकारी भन्छन्,‘त्यसैको शिलशिलामा अप्रेशन जारी छन् ।’