टीकापुर, ७ पुस । कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा भइरहेको तटबन्ध निर्माण कार्यमा अवरोध गरेको भारतीय पक्ष पछि हटेको छ। उसले नियोजित रूपमा तटबन्ध निर्माणमा अवरोध गर्ने मनसाय नरहेको बताएको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डर इन्सपेक्टर राजा मुराद अलीले आगामी दिनमा तटबन्ध निर्माण कार्यमा अवरोध नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कुनै भौतिक पूर्वाधार निर्माण गर्दा दुई देशबीचको दसगजा क्षेत्र भने नमिच्न आग्रह गरेका छन्।
स्थानीय जनप्रतिनिधि र दुई देशका सुरक्षा अधिकारीहरूले आइतबार विवादित सीमाक्षेत्रको संयुक्त निरीक्षण गरेर समस्या समाधानको पहल गरेका हुन्। उनीहरूले दसगजाबाट आ–आफ्नो भूभागमा गरिने नदी नियन्त्रणको काममा अवरोध नगर्ने सहमति जुटाएका छन्।
इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मनोहरप्रसाद भट्टले तत्काल ‘गुगल म्याप’ का आधारमा सीमा समस्याको समाधान गरिएको बताए। उनले भविष्यमा दक्ष प्राविधिक टोलीद्वारा दीर्घकालीन रूपमा सीमा समस्याको समाधान गर्ने र तत्काल ‘गुगल म्याप’ कै आधारमा अघि बढ्ने सहमति भएको जानकारी दिए।
‘अहिले अल्पकालीन रूपमा भए पनि समस्याको समाधान खोज्यौं। यसलाई दुवै देशले मान्ने सहमति भएको छ,’ उनले भने, ‘भोलिका दिनमा दीर्घकालीन रूपमा समस्याको समाधान माथिल्लो स्तरबाट हुने नै छ।’
उनले हराएको भनिएको ७०५/३ (साविक १०८) नम्बरको सीमास्तम्भ ‘गुगल म्याप’ मा देखिएको बताए। उनले ‘गुगल म्याप’ का आधारमा सो सीमास्तम्भ हाल नदीको पानीभित्र अंकित भएको जानकारी दिए। दुई देशका सुरक्षा अधिकारीले पानीभित्र अंकित भएको सीमास्तम्भ ७०५/३ र मोहना नदीबाट नेपालतर्फ रहेको ७०५/२ (साविक १०७) का आधारमा दसगजा क्षेत्र छुट्याएका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया