
काठमाडौं, ५ पुस । शुक्रबार राती भारतमा चलिरहेको अहिलेको नागरिकता सम्बन्धी कानुनको विरोधबाट उत्पन्न भएको तनावबारेको एउटा सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरको दुरुपयोग गरी विवादमा तान्न खोजीएको छ ।
खासगरी भारतीय राजनीतिक अवस्थाले नेपालमा पनि प्रभाव पर्ने बहस भइरहेका बेला त्यहाँकी विपक्षी दलकी नेत्री सोनिया गान्धीको सन्देशलाई ओलीको आधिकारीक ट्वीटरबाट रिट्वीट भएपछि सामाजिक सञ्जाल तातेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त ट्वीटर ह्यान्डलको पासवर्ड चोरी भएको हुनसक्ने आशंका गरेका छन् । तर, यति गम्भिर विषय आएका कारण त्यो आशंकामाथि पनि बहस हुन थालेको छ ।
खासगरी प्रधानमन्त्रीको सचिवालयमा नै उनको सामाजिक सञ्जाल हेर्ने व्यक्ति तोकेर राखिएको हुन्छ । उक्त सन्देश भूलवस वा नियोजित हिसाबले रिट्वीट गरियो भन्नेबारे प्रधानमन्त्री ओलीले पनि खोजीनीति गरेका छन् ।
‘अहिलेसम्म कसले गरेको हो भन्नेबारे खासै सूचना चुहिएको छैन । तर, यो पासवर्ड चोरी भयो भन्ने विषयमा पनि मिहिन अनुसन्धान भइरहेको छ’, बालुवाटार स्रोतले भन्यो ।
तर सोनिया गान्धीको उक्त रिट्वीट प्रधानमन्त्रीको आधिकारीक खाताबाट हटाइएको छ । यसले क्षणभरमा नै सामाजिक सञ्जालमा उठेका कतिपय प्रश्नको निराकरण गर्न नसक्ने भएकाले नै आन्तरिक छानबिन चलिरहेको बताइएको छ ।











प्रतिक्रिया