काठमाडाैं, ५ पुस । ०७२ सालको भूकम्पपछि सरकारबाट भोगाधिकारमा पाएको जग्गा प्रतिष्ठान कार्यसमितिले तत्कालीन नेकपा एमालेलाई पार्टी कार्यालय चलाउन दिएको थियो।
तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली (हाल प्रधानमन्त्री) लाई खुसी पार्न प्रतिष्ठानका संस्थापक आङछिरिङ शेर्पा (हाल निधन) ले भवन एमाले पार्टी कार्यालय चलाउन दिएको स्रोतले बतायो।
भवन दिएबापत प्रतिष्ठानका तत्कालीन अध्यक्ष कृपासुर शेर्पालाई आङछिरिङकै प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाइएको तत्कालीन एमालेका एक नेताले बताए। २०७२ सालमा कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा कृपासुर पर्यटनमन्त्री थिए। उनलाई पर्यटनमन्त्री बनाउन ओलीले सिफारिस गरेको स्रोत बताउँछ।
‘त्यतिबेला भोजपुर क्षेत्र नम्बर दुईबाट निर्वाचित कृपासुर शेर्पा मन्त्री बन्लान् भन्ने कसैले पनि सोचैकै थिएनौं तर एक्कासि मन्त्री बनेपछि एमालेकै कतिपय सदस्य चकित प¥यौं,’ ती नेताले भने ‘कृपासुरलाई मन्त्री बनाउन ओलीलाई राजी बनाउने व्यक्ति आङछिरिङ रहेछन् भन्ने कुरा पछि छर्लंग भयो।’
पर्यटन व्यवसायी आङछिरिङले कृपासुरलाई मन्त्री बनाएपछि आफ्नो स्वामित्वको यती होल्डिङ्स ग्रुपको फाइदाका लागि धेरै निर्णय गराउन सफल भएको पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन्। पर्यटन मन्त्रालयबाट आफ्नो हितमा निर्णय गराउन आङछिरिङले विश्वासपात्र सीताराम सापकोटालाई तत्कालीन पर्यटनमन्त्री कृपासुरको सल्लाहाकार बनाएका थिए। मन्त्रालय स्रोतका अनुसार कृपासुर पर्यटनमन्त्री भए पनि ‘डिफ्याक्टो’ मन्त्रीको भूमिकामा सापकोटा थिए। प्रतिष्ठानको उपाध्यक्षसमेत रहेका सापकोटा अहिले पनि यतीको हितमा काम गर्न नेपाल ट्रस्ट सञ्चालक समिति सदस्य नियुक्त भएका छन्।
तत्कालीन पर्यटनमन्त्री कृपासुरको सल्लाहकार हुँदा सापकोटाले यती होल्डिङ्सको भगिनी कम्पनी थामसेर्कुलाई पर्यटन प्रवद्र्धन गर्ने नाममा नारायणहिटी दरबार संग्रहालयको केही भाग भाडामा दिएर रेस्टुरेन्ट चलाउने दिनेगरी प्रक्रिया अघि बढाउन दबाब दिएको मन्त्रालयको संस्कृति महाशाखामा त्यसबेला काम गरेका एक अधिकारीले बताए। गुरुयोजना बनाएर नारायणहिटी दरबार संग्रहालयलाई विकास समितिमार्फत अघि बढाउने र भाडामा दिने योजना सापकोटाको थियो। अहिले पनि थामसेर्कुलाई नारायणहिटी दरबार संग्रहालयको केही भाग रेस्टुरेन्ट चलाउन भाडामा दिन चलखेल सुरु भएको संस्कृति मन्त्रालय उच्च स्रोतको दाबी छ।
‘थामसेर्कुले संग्रहालयभित्रको लमजुङ कक्ष र आसपासको केही भाग रेस्टुरेन्ट चलाउन सरकारसँग मागेको छ’, स्रोतले भन्यो, ‘थामसेर्कुकै जोडबलमा संग्रहालयलाई विकास समितिमा लगिएको छ, संग्रहालय विस्तारको गुरुयोजना तयार भइरहेको र विकास समितिमार्फत कार्यान्वयन गर्न खोजिएको छ।’
लमजुङ कक्षमा तत्कालीन राजपरिवारद्वारा विदेशी पाहुनालाई रात्री भोज दिइन्थ्यो। थामसेर्कुले संग्रहालय अवलोकन गर्न आउनेबाट ठूलो आम्दानी हुने देखेपछि योजनाबद्ध ढंगले भाडामा लिन खोजेको स्रोतको दाबी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यती होल्डिङ्स ग्रुपले तत्कालीन पर्यटनमन्त्री कृपासुर र सल्लाहकार सापकोटामार्फत पर्यटन मन्त्रालयअन्तर्गतकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको जग्गा पनि हत्याउन योजना बनाएका थियो। सशस्त्र प्रहरीको भ्याली गणलाई त्यँहाबाट विस्थापित पाँचतारे होटल सञ्चालन गर्ने यती गु्रपको रणनीति थियो। अहिले पनि यती ग्रुपले प्रधानमन्त्री ओलीमार्फत पाँचतारे होटल सञ्चालनका लागि विमानस्थल परिसरमा रहेको ९८ रोपनी जग्गा हत्याउन चलखेल गरिरहेको स्रोत बताउँछ।
प्रतिष्ठानले पार्टी कार्यालय चलाउन भवन दिएबापत प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले प्रतिष्ठानकी अध्यक्ष दाबा फुट्टीलाई स्पेनका लागि नेपाली राजदूत बनाएको स्रोत बताउँछ। स्वर्गीय पासाङ ल्हामु र लाक्पा सोनाम शेर्पाकी छोरी दाबा दाबा आङछिरिङकी भतिजी हुन्। सोनामले अहिले यती ग्रुप सम्हालिरहेका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०६६/०६७ बजेट भाषणमा विदेशस्थित कूटनीतिक नियोगहरूको पुनरवलोकन गरी प्रभावकारी नभएका नियोग खारेज गरिनेछ,’ उल्लेख छ। स्पेनका लागि नेपाली राजदूत भरत रायमाझीलाई फिर्ता बोलाउँदा त्यहाँ दूतावास खारेज गर्ने भनिएको सरकारका उच्च अधिकारी बताउँछन्। तर ओली नेतृत्वको सरकारले दाबालाई स्पेनमा राजदूत बनाएर पठायोे। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया