
काठमाडौं, २ पुस । नक्कली कागज बनाई सवारी चालक अनुमतिपत्रका लागि ट्रायल दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट चावहिल बस्ने कालीकोटका वीरेन्द्र मल्ल र सुकेधारा बस्ने दीपक शाहीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान उनीहरूको साथमा फेला परेको छ ।
नक्कली नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता प्रमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय बाँके भएको छाप एक थान प्रहरीले जफत गरेको हो ।
यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरिने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरुको एप्लिकेन्ट आईडीको फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्ट्याम्प प्याड २ थान पनि फेला परेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया