५ कार्तिक २०८३, बिहिबार

मैले कांग्रेसकाे बैठक बहिस्कार गरेकाे छैन्ः रामचन्द्र पाैडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० मंसिर । कांग्रेस केन्द्रीय समितिको बैठक बहिष्कार गरेर पाथीभरा देवीको दर्शन गर्दै विराटनगर आइपुग्नुभएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन भएको दुई महिनामा बन्नुपर्ने विभागहरूको कार्यकाल दुई महिना बाँकी रहँदा गठन हुन लागेको भन्दै मान्न नसकिने बताउनुभएको छ।

मोरङ कांग्रेसले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले आफूले बैठक बहिष्कार नगरेको पनि बताउनुभयो। आवधिक चुनावमा जनताले निर्वाचनमार्फत प्रतिनिधि चुन्ने प्रक्रियाजस्तै पार्टीमा पनि आवधिक महाधिवेशन हुनुपर्नेमा जोड दिँदै पौडेलले आफूहरूले पार्टीका सभापति शेरबहादुर देउवालाई कार्यतालिका बनाएर महाधिवेशनको तयारी गर्न सुझाव दिए पनि सुनुवाइ नभएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘काबुबाहिरको परिस्थिति भए पो कार्यकाल थप्ने हो तर त्यस्तो त केही छैन। कात्तिक मसान्तमा कार्यतालिका बनाउने सहमति गरियो तर मंसिर मसान्तमा पनि बनेन।’

नेता पौडेलले महाधिवेशन कहिले गर्ने भन्ने हिसाबको टुंगो गरेर अघि बढ्न सुझाव दिए पनि सभापतिले त्यसअनुसार काम नगरेको दाबी गर्नुभयो। भेटघाटमा सहभागी भएका कार्यकर्ताले पार्टीको भावी कार्यदिशा, नीति नियम र गुटबन्दीका बारे जिज्ञाशा राखेका थिए।

छलफलमा सहभागी प्रदेश १ प्रदेशसभाका कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कांग्रेस नीति नियमभन्दा पनि मनखुसी ढंगले सञ्चालन हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो।

उहाँले पार्टीका गुटउपगुटको राजनीति धेरै भएको भन्दै केन्द्रीय कमिटीको बैठक नै बहिष्कार गर्ने अवस्था आउनु राम्रो संस्कार नभएको बताउनुभयो। कार्कीले कांग्रेस आफ्नो नीति, सिद्धान्त र पार्टी विधानअनुसार चल्नुपर्ने बताउनुभयो।

यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीमा उत्पन्न विवादलाई समाधान गरिनुपर्ने सुझाव दिनुभयो। प्रदेश सांसद शेखरचन्द्र थापाले केन्द्रीय समितिको बैठक बहिष्कार गरेर विराटनगरतर्फ आएको भन्दै पौडेललाई यही संस्कार बस्दै जिल्ला, क्षेत्र, गाउँ र वडामा पनि पार्टी बैठक बहिष्कार गर्ने थिति बस्यो भने पार्टी कहाँ पुग्छ भनेर प्रश्न गर्नुभयो।

उहाँले आफ्नो कुरा लागू हुने अवस्था नआए बैठक बहिष्कार गर्नेभन्दा पनि बरु ‘नोट अफ डिसेन्ट’ लेखेर असन्तुष्टि जनाउने र त्यसबारे कार्यकर्ता तथा जनतालाई जानकारी दिने गर्नु उचित हुने सुझाव दिनुभयो।

प्रदेशसभामा कांग्रेस सचेतक सूर्यराज राईले कांग्रेसले विचारलाई मूलधारमा ल्याएर राजनीतिक संस्कार अघि बढाउनुपर्ने सुझाव दिनुभयो। कांगे्रसभित्र विचार र सिद्धान्तको राजनीतिक संस्कारको पर्खाइमा हजारौं युवा रहेको भन्दै उहाँले अब विचारलाई प्रवाह गरेर पार्टी अघि बढ्नुपर्ने बताउनुभयो। नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।