विराटनगर, १८ फागुन । हिन्दु राष्ट्रका पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकीकृत नेकपा माओवादी सहितका मधेसवादी दलहरुले हिन्दु धर्मलाई देख्नै नचाहेको खुलासा गर्नुभएको छ ।
तराई जिल्ला भ्रमणका सिलसिलामा विराटनगर विमानस्थलमा झरेका अध्यक्ष थापाले सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै एमाओवादी मोर्चा र सत्तारुढ दलहरुले पनि हिन्दु धर्म देख्न नचाहेको अरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो–‘८० प्रतिशत जनता हिन्दु भएको राष्ट्रलाई धर्मका नाममा टुक्रयाउने खेल भइरहेको छ, यो खेलमा सत्तारुढ दलहरुले पनि साथ दिइरहेका छन् ।’
उहाँले जनमत संग्रहबाटै हिन्दु राष्ट्रको टुङ्गो लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सहमतिका लागि संविधानसभामा रहेका दलहरुबीच सर्वदलीय बैठक आवश्यक रहेको उहाँको भनाई छ ।
काँग्रेस, एमाले र एमाओवादीको गलत नीति र सत्तालिप्साका कारण मुलुक सङ्कटको चक्रब्यूहमा फसेको उहाँको आरोप छ ।
अध्यक्ष थापाले संविधान निर्माणको विषयमा अधिकतम सहमति भइसकेको अवस्थामा केही जिल्लालाई कुन राज्यमा राख्ने विषयमा भएको विवादका कारण संविधान निर्माण कार्य अवरुद्ध भएको बताउनुभयो ।
उहाँले आफ्नो पार्टीले प्रश्नावली तयार पार्नमा सहयोग गरेको तर, धर्म निरपेक्षता, सङ्घीयता र शासकीय स्वरुपको विषयमा प्रश्न उठाउन नपाइने भएका कारण संविधानसभाबाट बाहिरिएको जानकारी गराउनुभयो ।















प्रतिक्रिया