सिनियर हिरोइनहरुको शरीर समात्दा आफैलाई अप्ठेरो लाग्छ । भारतमा पहिलोचोटी दक्षिण भारतकी सुपरस्टार नायिकासँग जबरजस्ती गर्नुपर्ने दृश्य थियो । सातवटा टेकसम्म मेरो प्रयास सफल हुन् सकेन् । बलात्कारको दृश्यमा खेल्दा घरपरिवारबाट गुनासो आउँछ ।
– पुष्कर भट्ट
चलचित्र क्षेत्र भनेको दर्शकको मन जित्ने क्षेत्र हो । दर्शकलाई मनोरञ्जन दिने क्षेत्र हो । भौगलिक विकटता, विकास तथा विविध विषयमा पछाडि परेको सुदूरपश्चिमका जनताले चलचित्रको बारेमा त्यति धेरै बुझ्न सकेका छैनन् । तर सुदूरपश्चिमका केही स्थानिय कलाकार अहिले राष्ट्रिय रुपमा चर्चित कलाकार बनेका छन् । ती मध्येका एक चर्चित खलनायक पुष्कर भट्ट । उनको नामै पर्याप्त छ दर्शकलाई चिनाउन । भारत लगायत नेपालका अधिकांश चलचित्रमा उनले दर्शकलाई हसाउने रुवाउने अभिनय गरेका छन् ।
सुदूरपश्चिमको कञ्चनपुरस्थित दैजी गाविसमा २०३० सालमा जन्मिएका खलनायक भट्टले होटल व्यवसायबाट कमाउने जीवनको यात्रा सुरु गरेका थिए । सानैदेखि कलाकार बन्ने चाहाना उनमा थियो । सानैदेखि विद्यालयमा भएका साँस्कृतिक कार्यक्रम नछुटाउने खलनायक भट्ट त्यतिबेलानै अभिनयमा अब्बल मानिन्थे । अनिनय गर्नमा जहिले पनि प्रथम हुन्थे । घरमा फिल्म हेर्दा पनि उनलाई कलाकार बन्नुपर्छ भन्ने लाग्थ्यो । एक चोटी कलाकार बन्न उनी घरबाट भागेर बलिउडको राजधानी मुम्बई पुगेका थिए ।
तर मुम्बईमा उनले पाउनु नपाउनु दुःख पाए । ‘घरबाट भागेर मुम्बई पुग्दा थाहा भयो, कलाकार बन्न कति गाह्रो छ भनेर । त्यति बेला पर्दामा हिरो नाच्दा घरबाट भागेर गइयो । सानो परिवारका लागि यो क्षेत्र रहेनछ भन्ने थाहा पाएँ ।’– घरबाट मुम्बई पुग्दा आम्दानीको स्रोत जुटाउन उनले होटलमा काम गरेको अनुभव सुनाए ।
उनले मुम्बईमा चलचित्र क्षेत्रको बारेमा धेरै जानकारी लिन भ्याए । कलाकार बन्न घरबाट भागेर मुम्बई पुगेका उनले करिब ८ वर्ष होटल कामदार भएर जीवनको गतिलाई अघि बढाए । उनले सन् १९८९ देखि १९९५ सम्म मुम्बईमा काम गरे । त्यसपछि ३ वर्ष उनले खाडी मुलुक साउदी अरबमा पनि होटल कामदारका रुपमा काम गरे । उनी भारतबाटै थप आम्दानी गर्न होटल कामदारका रुपमा साउदी गएका थिए । त्यतिबेला नेपालमा सुदूरपश्चिमका चर्चित कलाकार थिए नायक विराज भट्ट ।
३ वर्षपछि साउदीबाट नेपाल फर्केपछि उनको भेट नेपाली चलचित्र जगतका स्टार नायक विराजसँग भयो । गाउँले नाताले विराज पुष्करका दाजु पर्छन् । सानैदेखि कलाकार बन्ने चाहना बोकेका पुष्करको भेट दाजु विराजसँग भएपछि उनको कलाकार बन्ने सपना साकार भएको थियो । ‘विराज दाईले मलाई पहिलो भेटमै त कलाकार बन्छस् ? भनेर सोध्नुभयो । त्यसपछि दाईले तेरो आर्टिस्ट लुक छ, मेहेनत गरेर कलाकार बनिस भने साउदीको तलब यही पाउँछस् भन्नुभयो ।’ उनले सुनाए ।
कञ्चनपुरको दैजी शारदा उच्च माध्यामिक विद्यालयबाट एसएलसीसम्मको शिक्षा लिएका खलनायक पुष्करले त्यसपछिको उच्च शिक्षा भारतको पीलिभितबाट पूरा गरेका थिए । पुष्करले नायक विराजको प्रस्तावलाई स्वीकार गरे । पुष्करले चलचित्र खेल्ने भएपछि विराजले निर्देशक निर्मातासँग सम्झौता गरेर भेट गराए । त्यसपछि नायक विराजकै चलचित्र ‘अग्निज्वाला’बाट पुष्करले नेपाली रजतपटतमा पाइला टेके ।
पुष्कर भन्छन्– ‘अहिले म जहाँ छु, जुन स्थानमा छु, यो सबै विराज दाईकै प्रेरणा हो । उहाँ नै मेरो गुरु हो, उहाँ नै मेरो स्कूल हो ।’ विराजले घरमा बोलाएर पुष्करलाई एक्टिङ सिकाउथे । ‘विराज दाइकै घरमा एक वर्ष बसेर एक्टिङ सिके, जसका कारण मैले आज यो ठाउँ पाएको छु ।’ विराजबाट एक्टिङ सिकेपछि २०५८ सालमा साउदीबाट नेपाल फर्किएका पुष्करले औपचारिक रुपमा विराजको चलचित्र ‘अग्नि ज्वाला’बाट २०६१ सालमा सह–खलनायकको भुमिकामा रजतपटत यात्राको सुरुवात गरेका थिए ।
हालसम्म पुष्करले ८० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । जसमा १२ वटा भोजपुरी छन् । नेपालीसँगै भारतीय चलचित्रमा पनि पुष्करको अभिनय हेर्न पाइन्छ । चलचित्र ‘अग्नि ज्वाला’ मा पुष्करको अभिनयलाई दर्शकले मन पराएपछि निर्देशक दयाराम दाहालले अर्काे चलचित्रमा पनि मौका दिएको स्मरण गर्दै पुस्कर भने–‘विराज दाईसँग फिल्म शुटिङ हेर्न गएको थिएँ । निर्देशक दयाराम दाहालले एउटा डाइलग बोल्न सक्छौं भनेर सोध्नुभयो । मेरो पनि चाहना भएकाले हुन्छ भनेँ । त्यतिबेला अहिलेको जस्तो डिजिटल सिस्टम थिएन् । एनालग (रिल) सिस्टमबाट खर्चिलो सुटिङ हुन्थ्यो । निर्देशकले राम्रो प्रयास गर्नु एनालग धेरै नबिगार्नु भनेका थिए । विराज दाईसंगै भएकाले एक्टिङ गर्ने हिम्मत जुट्यो । एक्टिङ गरे । एक सटमै राम्रो भयो ।’
एक्टिङपछि पुष्करलाई फिल्मका सिनियर कलाकार आरपी पन्तले धेरै राम्रो ग¥यौं, तिमी ठूलो कलाकार बन्छौं भनेका थिए । ‘फिल्मको एक्टर भएर आएका सिनियर कलाकारको प्रशंसाले मलाई थप उर्जा आयो, मन उत्साहित भयो ।’ उनले चलचित्र सुरुवाती चरणको कथा सुनाए । ‘विराज दाईले त अहिलेपनि अझै राम्रो गर्नुपर्छ भन्नुहुन्छ, यो सबै विराज दाइकै प्रेरणा हो ।’
अग्नि ज्वालाबाट सुरु भएको चलचित्र यात्रामा उनले नयाँ नेपाल, वाटुली, गंगाजल, आफ्नो मान्छे आफ्नै हुन्छ, कहाँ छौ कहाँ, जलजला, शान, विरासत, म विर्सु कसरी, हिम्मतवाली लगायतका ८० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका चलचित्र सञ्जोग, कुर्वान, कसैलाई नभन्नु लगायतका चलचित्र रिलिज (प्रदर्शन)का क्रममा छन् ।
सिस्टम, कुहिनेरो, रेञ्जर, सुपर हिरो जस्ता चलचित्रमा पुष्कर मुख्य खलनायकको भुमिकामा देखिदैँछन् । चलचित्र शुटिङका क्रममा नेपालका सबै ठाउँहरुमा पुगिसकेका पुष्कर भन्छन्– ‘सुटिङका लागि पोखरा चितवन राम्रो सुन्दर ठाउँ भएपनि सुदूरपश्चिम स्वर्ग हो । सुदूरपश्चिममा चलचित्र सुटिङ छिराउने पहिलो कलाकार पनि पुष्कर भट्ट हो ।’
पुष्करले चलचित्र ‘बे्रक फेल’ लाई आफ्नै जोखिममा सुदूरपश्चिममा सुटिङ गराएका थिए । ‘निर्माता निर्दशक शंकर घिमिरेसँग मेरो लामो सम्वादपछि काठमाडौं–पोखरा खर्चमै सुदूरपश्चिम सुटिङ गर्ने सहमति भयो । त्यो खर्चमा नभ्याए घरखेत बेचेरपनि खर्च तिर्ने सम्झौता गरँे ।’ पुष्कर भन्छन् ‘अन्तिममा त्यही खर्चमा सुदूरपश्चिममा चलचित्रको १५ प्रतिशत सुटिङ भयो ।’ ब्रेक फेल छायाँकन भएपछि सुदूरपश्चिम नयाँ स्पट बनेको पुष्कर बताउँछन् । पछिल्लो समयमा सुदूरपश्चिममा चलचित्र भीमदत्त, हिम्मतवाली, विरासत, दुलही रानी, देवदेवकी, विनाशक, दानव, अन्नदाता लगायतका चलचित्रको छायांकन भएको छ ।
छायाकंनले सुदूरपश्चिमलाई चिनाएको खलनायक पुष्कर बताउँछन् । रेखा थापा फाउण्डेसन पनि सुदूरपश्चिमबाटै सुरु गरेको उनले बताए । ‘हरेक क्षेत्रमा मेरो प्राथमिकता सुदूरपश्चिम हो’ उनले भने । उनले सुदूरपश्चिमका सबै ठाउँहरु चलचित्र क्षेत्रका लागि स्वर्ग भएको बताए । ‘नेपाली चलचित्रका निर्माता, निर्देशकलाई भन्न चाहन्छु, पोखरा जोमसोज धेरै भयो, दर्शकलाई नयाँपन दिन सुदूरपश्चिम बेष्ट स्पोट हो ।’ पुष्करले आग्रह समेत गरे ।
पहिले चलचित्रमा सहायक भिलेनको भूमिका निभाउदै आएका पुष्कर वर्षमा १० देखि १२ चलचित्रमा अभिनय गर्थे । तर अहिले २ वर्षयता मुख्य भिलेनको भुमिकामा देखिदै आएकाले वर्षमा ५/६ वटा फिल्म खेल्दै आएको बताए । पुष्करलाई एक्सन मुभीहरुमा अभिनय गर्न मन पर्छ । उनी भन्छन् ‘म क्वान्टीटी भन्दा पनि क्वालिटी बढी हेर्छु ।’
उनले एकपटक दुर्घटनामा परेको कथा समेत सुनाए । चलचित्र प्रहारमा राजेश हमालको छर्राबाट पुष्कर घाइते भएका थिए । त्यस्तै, चलचित्र कहाँ छौं कहाँ मा पनि बारुद पड्किएर घाइते भएको उनले सुनाए ।
उनले चलचित्रमा सिनियर हिरोइनसँग खेल्दा अप्ठेरो लाग्ने बताए ।
‘सिनियर दिदी (हिरोइन) हरुको शरीर समात्दा आफैलाई अप्ठेरो लाग्छ,’ उनी भन्छन्, ‘आफूभन्दा कम उमेरकासँग त्यति गाह्रो हुँदैन् ।’
उनले हिन्दी चलचित्र जावाज जिगरवालेमा अभिनय गर्दाको अनुभव हामीलाई यसरी सुनाए- ‘भारतमा पहिलोचोटी दक्षिण भारतकी सुपरस्टार नायिकासँग जबरजस्ती गर्नुपर्ने दृश्य थियो । मलाई अप्ठेरो लागिरहेको थियो, दक्षिण भारतकै स्टार तथा बलिउडकी नायिका शोनाली जोशीसँग पहिलोपटक बलात्कारको सिनमा खेल्नुपर्दा । डराइरहेका थिएँ । सातवटा टेकसम्म मेरो प्रयास सफल हुन् सकेन् । पछि शोनाली दिदी आफैले यो फिल्म हो, यसमा जस्तो भन्यो त्यस्तो गर्नुपर्छ भनेपछि बल्ल नवौ टेकमा निर्देशकले पास भन्यो ।’
बलात्कारको दृश्यमा खेल्दा पहिले पहिले घरपरिवारबाट गुनासो आउने गरेको पुष्कर बताउँछन् । दर्शकले माया गर्न थालेपछि परिवारले पनि गुनासो गर्न छाडेको उनले बताए । कलाकारितामा लागेपछि घर परिवार तथा गाउँ समाजबाट राम्रो सम्मान पाएकोमा उनि निकै खुसी देखिन्छन् । खलनायक पुष्करले आफ्ना छोरा विवेक भट्टलाई पनि वाल कलाकारको रोलमा चलचित्रमा प्रवेश गराएका छन् । चलचित्र विरासतमा नायक भुवन केसीको छोराको रुपमा विवेकले अभिनय गरिसकेको उनले बताए । ‘चलचित्र हिरोको पनि अफर आएको थियो, पढाई बिग्रिन्छ भनेर अहिले नै नखेलाउने निर्णय गरेँ’ उनले भने ।
उनै नेपाली चलचित्र उद्योगका नाम चलेका खलनायक पुष्कर भट्टले अहिले फेरि होटल व्यवसायलाई निरन्तरता दिएका छन् । १८ वर्ष अगाडि होटल कामदार रुपमा अनुभव वटुलेका खलनायक पुष्करले सदुपयोग गर्दै होटल मालिक बनेका छन् । उनले राजधानीको चावहिल, सरस्वतीनगर स्थित राजधानी मिनिमार्केटमा डल्फिन डी क्याफे नामको होटल सञ्चालनमा ल्याएका छन् ।
उनी भन्छन्– ‘१२ वर्ष पहिलेको ५ वर्षे होटल अनुभव छाडेर चलचित्रमा लागेपछि बेला बेला मन कुटुकुटु हुन्थ्यो, मैले सिकेको अनुभव खेर गयो भन्ने महसुस हुन्थ्यो, त्यो अनुभवको सदुपयोग, सधै सुटिङ हुँदैन्, फुर्सदमा ५ वर्षे अनुभवको होटल व्यापारबाट सदुपयोग गर्ने उद्देश्यले होटल व्यवसायमा पुनः जोडिएको छु ।’
उनले छोराहरु कमाउन विदेश जाने भनेपछि रोजगार दिन पनि होटल व्यवसाय सञ्चालनमा ल्याएका हुन् । विदेशमा नौकर बन्नुभन्दा स्वदेशमै मालिक बन्नु ठीक हुन्छ भन्ने सुझावसहित छोराकै लागि होटल खोलेको उनको भनाई छ । चलचित्रमा दर्शकको साथ जस्तै होटल व्यवसायमा पनि साथ पाउने उनको विश्वास छ । चलचित्रमा करिब डेढ दशक विताएका पुष्करले ज्यानले साथ दिइन्जेल योगदान गर्ने बताए । उनले छोरालाई पनि सँगसँगै हिरो बनाउँदैछन् । अर्काे पुस्ताले चलचित्र उद्योगमा योगदान दिने उहाँको भनाई छ ।
कलिउड भनेर चिनिदै आएको नेपाली चलचित्र उद्योग क्षेत्रमा प्रख्यात पुष्कर भट्ट ज्यानले भ्याएसम्म चलचित्रका पर्दाहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाउने काममा लाग्ने बताउँछन् ।
प्रस्तुति : कमलराज भट्ट/दैनिक नेपाल डटकम














प्रतिक्रिया