१० मंसिर २०८३, बिहिबार

गम्भिर प्रश्न : ट्रिगर दबाउने औंला भाच्नेलाई प्रहरीले के गर्ने ?

32.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । मंगलबार दशरथ रंगशालामा १३ औं दक्षिण एसीयाली खेलकुद (साग)को अन्तिम तथा समापन कार्यक्रम थियो । नियमित भन्दा आधा जसो टिकट बिक्रिमा थिएनन् । त्यहि दिन थियो सर्वाधिक चर्चामा रहेको नेपाल र भुटानको फूटबलको फाइनल खेल ।

दर्शकको उपस्थिति अन्य दिनको तुलनामा तेब्बर भन्दा बढीको संख्यामा हुने नै भयो । एकातिर समापन, अर्कातिर फूटबलको फाइनल । त्यहाँमाथि टिकट बिक्रि अन्य दिनको तुलनामा आधा भन्दा कम । भिडभाड र हुलदुंगा सम्भावित जोखिम मुल्यांकन गरिएकै थियो ।

आयोजक मुलुक भएकाले ७ हजार विदेशी खेलाडी, प्रशिक्षक र पाहुनाको सुरक्षा व्यवस्था गर्नु सामान्य संख्यामा रहेका कारण प्रहरीका लागि परिक्षा त थियो नै चुनौति पनि थपिएको थियो । अर्कोचाहिँ नेपाली समर्थकलाई हुलदुंगाको जोखिमबाट जोगाउनु पनि प्रहरीकै काँधमा थियो ।

११ दिनसम्म भएको खेलमा सँधैजसोको सुरक्षा व्यवस्थामा प्रहरी कहिँ चुकेको खबर आएनन् । तर फाइनलका दिन बिहानैदेखि हुलको जोखिममा रहेको दशरथ रंगशाला गेटमा भएको घटनाले चर्चा पायो । शीर्षक बने,‘प्रहरीद्वारा सर्वसाधारणमाथि हातपात, पत्रकार पनि कुटिए ।’

तर बिहान सामान्य अवस्थाप्रति आयोजक जानकार थियो । तर नेपाल प्रहरीको सुरक्षा व्यवस्था नभएको भए साग सम्भव हुने थिएन भन्दै आयोजकले समापनका क्रममा मञ्चबाटै फुक्यो– शान्ति सुरक्षा कायम गरेका कारण नेपाल प्रहरी, त्यसका महानिरिक्षक सर्वेन्द्र खनाललाई धेरै धेरै धन्यवाद !

त्यस दिन घटनाको पृष्ठभूमी के थियो ?

सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन थियो । नेपाली भीआईपी मात्र होइन, विदेशी पाहुना, खेलाडी सबैलाई निर्वाध छिराएर कार्यक्रम सम्पन्न गराउनु थियो । सुरक्षामा खटिएका थिए प्रहरी नायव उपरिक्षक (डिएसपी)द्वय रुगम कुँवर र सन्तोष सिंह राठौर ।

गेट सुरक्षामा साधारण सुरक्षा गार्डले थाम्न सकेका थिएनन् । प्रहरीको एउटा घेरा राखिएको थियो । टिकट नपाएका कारण दर्शक निराश थिए, दर्शकसँगै एउटा हूल थियो जो बबन्डर मच्चाउने क्रममा अघि बढिरहेको थियो ।

‘गेट नै भाँचेर रंगशालामा छिर्ने तयारीमा रहेको समूहलाई प्रहरीले हस्तक्षेप गर्न बाध्य भएको थियो’, सुरक्षामा खटिएका एक प्रहरी जवान भन्छन्,‘ठूलो भिँडले रंगशालाको गेट नै भत्काउने जस्तो गरी ठेलमठेल भएपछि नियन्त्रणका लागि लाठीचार्ज गर्ने तयारीका क्रममा एक जनालाई हानेको हो, यसले भिड तितरवितर भई कार्यक्रम राम्रो हुन्छ भन्ने प्रहरीको मनसाय थियो ।’

सोही क्रममा एक व्यक्ति परिचयपत्र वा परिचय खुल्ने केही बस्त्र समेत नलगाई मोवाइलबाट धमाधम भिँडभित्रै पुगेर केही खिचिरहेका थिए । ‘भागदौड र चार्जका क्रममा उनलाई पनि प्रहरीको लाठीले भ्याएछ पछि थाहा भयो पत्रकार रहेछन्’, सुरक्षामा खटिएका प्रहरी अधिकारी भन्छन्,‘उनले परिचय खुल्ने केही पनि लगाएका थिएनन् ।’

डिएसपीको औंला भाँचेपछि जे भयो

टिकट र पास माग्दै एउटा उच्छृङ्खल समूहको नेतृत्व गर्दै अगाडि बढिरहेका थिए शिवबहादुर कार्की । उनको त्यो समूहलाई रोक्न डिएसपी कुँवरसहितको टोली गेटमा आएको थियो । तर त्यो भिडले प्रहरीले होहल्ला नगर्नका लागि गरेको अनुरोधलाई मानेन ।

बरु, गेटमा ठेलमठेलमात्र होइन डिएसपी कुँवरको छातीमा लगाएको नेमप्लेट र व्याच नै च्यातिदियो । यति हुँदा पनि प्रहरीले धकेलेर बाहिर निकाल्न खोजिरहेको थियो । तर, कार्कीले डिएसपी कुँवरको औंला नै भाँचिदिए । ‘एकातिर भिड नियन्त्रण गर्नुपर्ने जोखि थियो नै, एक जनालाई नरोक्दा अवस्था नै गम्भिर हुन सक्थ्यो, अर्कातिर आक्रमण भएपछि प्रतिरक्षाका लागि कार्कीमाथि हातापाई भएको हो’, प्रहरी अधिकारी भन्छन्,‘बन्दुक समेत बोकेको प्रहरीको ट्रिगर दबाउने औंला नै भाँचेपछि ति युवकसँग बच्न के गर्ने ? प्रतिरक्षा नगर्ने ?’

घटनाबारे छानबिन समिति बनिसकेको छ । जसलाई त्यस दिनको घटनाबारे जानकारी दिने र सहयोग गर्न अधिकारीहरू तयार रहेको बताइसकेका छन् ।

कर्मचारीलाई मस्ती, प्रहरीलाई सास्ती

राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीलगायतले साग सफल बनाउनका लागि विभिन्न कार्यालयका कर्मचारी पनि खटाएका थिए, भोलन्टियरका रुपमा । जसलाई दैनिक २ हजार ५ सय देखि ३ हजार ५ सयसम्म सुविधा थप गरिएको थियो ।

तर प्रहरीका लागि थप कुनै सुविधाको कुरा त छाँडौ रंगशालामा नियन्त्रणका लागि चाहिने जनशक्ति सवारी साधनको पनि अभाव थियो । तैपनि प्रहरी प्रमुख खनालको निर्देशन र साग सफल बनाउने दृढतालाई निर्भिकतापूर्वक पूरा गर्न सफलता मिल्यो । एक जवान भन्छन्,‘हुन त प्रहरीको सेवा नै त्यस्तै हो । तर, खाना खाने उपयुक्त समय पनि मिलेको थिएन त्यहाँमाथि ठूलो भिडको जोखिम सामना गर्नु थियो ।’

नेपाल प्रहरीले ११ दिनसम्म सागका हरेक खेल र प्रतिनिधिको सुरक्षा, सवारीसहितका काम निर्भिकताका साथ पुरा गरेको विषयमा कसैले चर्चा नगरेको प्रहरी कर्मचारीको गुनासो छ ।