१० मंसिर २०८३, बिहिबार

माधव नेपालको क्षेत्रमा कांग्रेसद्वारा मेयरका कार्यक्रमहरू बहिस्कार

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा मेयर कृष्णहरि थापाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेस नगर संघर्ष समितिले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाएको छ ।

नेपाली कांग्रेसको कागेश्वरी मनोहरा नगर समितिले मेयर थापाविरुद्ध तेस्रो चरणको आन्दोलन शुरु गरेको छ । आन्दोलनका क्रममा नेपाली कांग्रेसले मेयर थापाको कार्यक्रम बहिस्कार शुरु गरेको छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले मेयर थापाको विरोध गर्न हातमा कालोपट्टी बाँधेर बुधाबरदेखि काम शुरु गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरू सुदर्शन धिमाल, भाईकाजी अधिकारी, जीवन थापा तथा वडासदस्यहरू सहदेव कार्की, शर्मिला थापा कार्की, लक्ष्मण पुरी, बिना थापा, आत्माराम बस्नेत लगायतले मेयरको भ्रष्टाचारविरुद्ध हातमा कालोपट्टी बाधेर जनताको काम गरेको नेपाली कांग्रेसका नेता कवीर शर्माले जानकारी दिए ।

मेयर थापा सहभागी लैंगिक हिंसा सम्बन्धी कार्यक्रमलाई नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरूले बहिस्कार गरेका छन् ।

नेपाली कांग्रेस नगर संघर्ष समितिको आह्वानमा कागेश्वरी नगरपालिकामा भएका अनियमितता, चरम बेथिती, नगर प्रमुखको मनोमानी र स्वेच्छाचारिता लगायतको बिरोधमा तेस्रो चरणको बिरोध कार्यक्रम शुरु भएको छ ।

नेपाली कांग्रेसको संघर्ष समितिले समितिले मंसिर २८ गते शनिबार, बिहान साढे सात बजे नगरपालिकाभित्रका पेशाकर्मी, बुद्धिजीवी तथा नागरिक अगुवाहरूसंग आफ्ना मागहरूका विषयमा अन्तरक्रिया गर्नेछ ।

समितिले पुस ३ र ४ गते नगरपालिका घेराउ कार्यक्रम राखेको संयोजक शंकर थापाले जानकरी दिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकाका मेयर थापाले भ्रष्टाचार र अनियमितता गरेको भन्दै नेपाली कांग्रेसले आन्दोलन शुरु गरेको हो । मेयर थापा तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।