
काठमाडौं, २५ मंसिर । तीन बर्षअघि मुलुकलाई साताको सय घन्टासम्म अन्धकारमा राख्ने नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक मुकेश काफ्लेसहितसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको दाबी गरिएको छ ।
मुलुकलाई अन्धकारमा राखी उद्योगको प्रभावमा नीतिगत तहदेखि नै भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बयान लिएको दाबी गरिएको हो । अख्तियारले उक्त विषयमा छानबिन भइरहेको बताए पनि काफ्लेलगायतसँग बयान लिएको स्वतन्त्र पुष्टिचाहिँ हुन सकेको छैन ।
तत्कालीन विद्युत् भारप्रेषण केन्द्र प्रमुख भुवन क्षेत्रीलगायतसँग पनि बयान लिइएको जनाइएको छ । उद्योगहरूलाई विजुली उपलब्ध गराउने वितरण केन्द्रका अरु पनि प्रमुख र जिम्मेवार व्यक्तिलाई अख्तियारले बयानका लागि बोलाउने तयारी गरेको स्रोतको भनाई छ ।
हेटौंडा, विराटनगर, धनकुटालगायतका वितरण केन्द्रका तत्कालिन प्रमुखहरु तनिन लागेका हुन् । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय नै नगराई त्यसबेला डेडिकेटेट लाइन दिन ति प्रमुखहरु जिम्मेवार रहेको अखितयारको बुझाई छ ।
त्यतिबेला प्राधिकरणले ‘उद्योगको संरक्षण’ गर्ने नाममा दर्जनौं उद्योगलाई डेडिकेटेट लाइन दिएको थियो । तत्कालीन कार्यकारी निर्देशक र विद्युत् भार प्रेशण केन्द्रका प्रमुखबीचको मिलेमतोमा गरिएका तजबिजी निर्णयमा उद्योगी व्यापारीलगायतको प्रभाव पनि रहेको खुल्न थालेको छ ।
राजनीतिक पहुँच र पावरका आधारमा काफ्लेलगायतको उक्त निर्णयबारे पछि सार्वजनिक रुपमा जानकारी आउन थालेपछि आलोचना भएको थियो ।
प्राधिकरण प्रमुखमा कुलमान घिसिङ आएपछि मुलुक अन्धकारमुक्त भएको अनुभव सर्वसाधारणले गरेका छन् । डेडिकेटेट लाइन लिने उद्योगमा विजुली वितरण बन्द गर्दै घिसिङले सर्वसाधारणको मर्काको व्यवाहारिक सम्बोधन गरेका थिए ।











प्रतिक्रिया