५ कार्तिक २०८३, बिहिबार

एथ्लेटिक्समा तेस्रो दिन नेपाल पदकविहीन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर ।- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत एथ्लेटिक्सको तेस्रो दिन बिहीबार श्रीलंकाले ४ स्वर्ण जित्दा नेपाल पदकविहीन बन्यो। श्रीलंकाले महिला ४ सय मिटर, पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो।

पहिलो दुई दिन दबदबा कायम गरेको भारतले १ र पाकिस्तानले १ स्वर्ण जिते। पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाए। महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारूले निर्धारित दूरी १५.६० सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।

पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मद नाइमले निर्धारित दूरी १४.३० सेकेन्डमा पूरा गर्दैै स्वर्ण जिते। भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा दूरी पूरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य जिते। सोही विधामा नेपालका चन्द्रदेव जोशीले १६.३९ सेकेन्डमा दूरी पूरा गरे।

महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कांस्य जितिन्। सुगन्धले निर्धारित दूरी पूरा गर्न १३.६८ सेकेन्ड खर्चिँदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेन्डमा दूरी पूरा गरे।

महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो। ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्वर्ण जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण जिते।

महिलातर्फ स्वर्ण जित्ने क्रममा माहिसाले सो दूरी पार गर्न ५३.४० सेकेन्ड खर्चिँदा रजत जितेकी भारतकी प्रिया हब्बाथान र कांस्य जितेकी पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दूरी क्रमशः ५४.३१ र ५४.५८ सेकेन्डमा पार गरिन्। नागरिक दैनिकले खबर छापेकाे छ ।