
इटहरी, १८ मंसिर । इटहरी उपमहानगरपालिका कार्यालयले सडक विस्तारको विवाद समाधानका लागि सडक आयोजनासँग मागेको कागजान नआएपछि दोहोर्याएर पत्र लेखेको छ ।
२ मंसिरमा पत्र लेखेर विस्तृत विवरण माग गरेको उपमहानगरलाई सडक आयोजनाले वास्ता नगरेपछि फेरि पत्र लेखिएको हो ।
इटहरीको धरान रोडमा ६ लेन सडक निर्माण गर्दा चौडाई घटाइएको विषयमा विवाद भएको थियो । ८२ फिट छाड्नुपर्ने मापदण्डलाई सहरी क्षेत्रमा भने ६५ फिटमात्र छाड्न लागिएको भन्दै विरोध भएको थियो ।
‘सडक विस्तारको काम समान हुनुपर्छ भन्ने धारणा छ । कतै एउट र कतै अर्को मापदण्ड कायम गर्दा अन्याय हुन्छ’, उक्त विवाद समाधानका लागि बनेको संघर्ष समितिका संयोजक, नेकपा सुनसरी सदस्य मदन चुडालले भने,‘उपमहानगरपालिकाले विवरण माग गरेको भन्ने समाचारमा आएका छन् । हामीले उपमहानगरसहित सडक कार्यालय र प्रदेश सरकारलाई पनि ज्ञापन बुझाएका थियौं ।’
सडक विस्तारको काम दिर्घकालिन रहेको र यसमा समान मापदण्ड हुनुपर्छ भन्ने मान्यता राख्छिन् नेकपा सुनसरी इञ्चार्ज तथा पूर्वराज्यमन्त्री रामकुमारी चौधरी । उनका अनुसार विकासका काममा सरकारी कार्यालयले बनाएको मापदण्ड, त्यसको कागजका आधारमा काम हुनुपर्छ ।’
इटहरी बजार क्षेत्रमा कतिसम्म सडक विस्तार गर्न सकिन्छ भन्ने विषय सडक आयोजना एक्लैको निर्णयमा पनि सम्भव नरहेको बताइन्छ । स्थानीय सरकार भएका कारण उपमहानगरपालिकासँगको समन्वयमा काम हुनुपर्छ तर कार्यालयले उपमहानगरले माग गरेको विवरण हालसम्म दिएको छैन ।
बजार क्षेत्रमा रहेका नेपाली कांग्रेस समर्थित व्यक्तिको घर, व्यापारिक प्रतिष्ठान समेत रहेका कारणले उनीहरूको दबाबमा मापदण्ड मिच्न खोजिएको एकथरीको आरोप रहँदै आएको छ ।











प्रतिक्रिया