काठमाडौं, मंसिर । दशरथ रंगशालामा मंगलबार नेपाली एथलेटिक्सले इतिहास रचेको छ। १३औं दक्षिण एसियाली खेलकुदको एथलेटिक्समा सन्तोषी श्रेष्ठ सागको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला बनिन्।
महिला १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जित्दा रंगशाला क्षणभरका लागि स्तब्ध बन्यो। सन्तोषीले उक्त स्पर्धामा स्वर्ण जित्ने कल्पना न उनका प्रशिक्षकले गरेका थिए न त अन्य खेल पदाधिकारीले नै।
खेल सुरु भयो। सहभागी धावक आआफ्नो ट्रयाकबाट दौडन सुरु गरे। दौडको सुरुदेखि नै सन्तोषीले प्रतिद्वन्द्वीलाई पछाडि पारिन्। १० हजार मिटर दूरी पूरा गर्न दौडका सहभागीले रंगशालामा बिछ्याइएको ट्र्याक पछ्याउँदै २५ चक्कर लगाउनुपर्ने थियो।
आफ्नै गतिमा दौडिएकी सन्तोषीले अन्तिम समयसम्म प्रतिद्वन्द्वीलाई उछिन्ने अवसर दिइनन्। दक्षिण एसियाली एथलेटिक्समा दबदबा कायम गरेका भारत र श्रीलंकाका धावकले उनलाई निरन्तर पछ्याइरहेका थिए। तर, अन्तिम ५० मिटरको दौड बाँकी रहँदा भारतीय धाविका कविता यादवले आफ्नो गति बढाएर सन्तोषीलाई उछिन्ने प्रयास गरिन्।
प्रतिद्वन्द्वीको चलाखी बुझेकी सन्तोषीले अन्तिम समयमा जम्प गर्दै कविताभन्दा पहिले लक्ष्य पूरा गरिन्। दर्शकले हेर्दा सन्तोषी र कविता दुवैले एकै समयमा दौड पूरा गरेजस्तो देखिए पनि रंगशालामा जडान गरिएको ‘फोटो फिनिसिङ क्यामरा’ मा कैद भएको दृश्यले सन्तोषीले बाजी मारेको स्पष्ट संकेत गर्यो। त्यसपछि नतिजामा कुनै विवाद रहेन। सन्तोषीले नेपालका लागि ऐतिहासिक पदक जितिन्।
सन्तोषीले निर्धारित दुरी पूरा गर्न ३५ मिनेट ०७.९४ सेकेन्ड समय खर्चिइन्। रजत पदकमा समेटिएकी भारतीय खेलाडी कविताले ३५ मिनेट ०७.९५ सेकेन्डमा दौड पूरा गरिन्। एक मिलिसेकेन्डको अन्तरका कारण सन्तोषीको पोल्टामा स्वर्ण पदक पर्यो। उक्त स्पर्धामा श्रीलंकाली खेलाडी निलान्थी लंकाले कांश्य पदक हात पारिन्। उनले दौड पूरा गर्न ३५ मिनेट ५९.०२ सेकेन्ड लगाइन्।
सन्तोषीले लेन ६ र कविताले लेन एकबाट दौड सुरु गरेका थिए। निलान्थी भने लेन तीनमा थिइन्। उक्त स्पर्धामा श्रीलंकाकी हिरुनी केशरा चौथो, भारतकी आरती दत्तात्रय पाँचौं, नेपालकी विश्वरूपा बुढा छैटौं र माल्दिभ्सकी मरियम अब्दुल सातौं स्थानमा रहे। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया