१० मंसिर २०८३, बिहिबार

‘पार्टी एकता नहुँदा राम्रा ठाउँमा नेकपा हार्‍यो’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता हरिबोल गजुरेलले पार्टीभित्रको आन्तरिक विवादका कारण भक्तपुर र धरान उपमहानगरपालिका जस्ता राम्रा स्थानमा पराजय भोग्नु परेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान अन्तर्वार्ताका क्रममा नेकपाका नेता गजुरेलले साढे एक वर्ष हुँदा पनि पार्टी एकीकरण नटुंगिदा उपनिर्वाचनमा त्यसको प्रभाव देखिएको बताए । उनले पार्टी एकीकरणको बाँकी कुराहरू छिटो पूरा गर्न माग गरेका छन् ।

‘पार्टी एकीकरण भएको साढे एक वर्ष भइसकेको छ । दुबै पार्टीको समायोजन प्रक्रिया अझै पूरा हुन सकेको छैन’, उनले भने, ‘त्यसको प्रभाव उपनिर्वाचनमा देखिएको छ ।’

नेकपा पराजित हुनुमा पार्टीभित्रको आन्तरिक द्वन्द्व रहेको बताएका नेता गजुरेलले भने, ‘मनमोहन भट्टराईको पालामा तत्कालीन एमालेको सरकारले राम्रो काम गरेको थियो । त्यसपछिका सरकारले राम्रो काम गर्न सकेनन् । यस पटकको दुईतिहाइको सरकारले पनि राम्रो काम गर्न सकेन । जनतामा निराशा छ ।’

नेकपाका नेता गजुरेलले सरकारबाट जनताले गरेको अपेक्षाअनुसार काम हुन नसकेको बताए । उनले भने, ‘जनताले चाहेको र सोँचेअनुसारको काम गर्न सकेन । त्यसको परिणाम उपनिर्वाचनमा जनताले देखाइदिएका छन् ।’

पार्टीभित्रको अन्तरद्वन्द्वको परिणामले चितवनलगायतका स्थानमा नेकपाका उम्मेदवारहरू पराजित भएको नेता गजुरेलले बताए ।

नेता गजुरेल पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासपात्र मानिन्छन् । उनले घुमाउराे भाषामा पूर्वएमालेहरूका कारण भक्तपुर र चितवनमा पराजित भएकाे संकेत गरेका थिए । उनले धरानका बारेमा भने धेरै बाेलेका छैनन् ।