इलाम, १७ मंसिर । जिल्लाको भारतीय सीमासँग जोडिएको दसगजा वर्षाैंदेखि दुवैतर्फबाट अतिक्रमित छ। भारतीय पक्षले दसगजामा सरकारी भवन बनाएर सुरक्षाकर्मीसमेत राखेका छन् भने नेपालीले पनि निजी घर र अन्य संरचना बनाएका छन्।
इलामसँग जोडिएको भारतीय सीमा सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ। यो दूरीमा दुवैतर्फबाट १९ स्थानमा दसगजा मिचेर संरचना बनाइएको पाइएको छ। एकले अर्काे देशको भूमि अतिक्रमण नगरे पनि दसगजामा चाहिँ बेला–बेला समस्या दोहोरिने गरेको सुरक्षा निकायले जनाएको छ।
पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) का अनुसार सीमामा कहिले सामान्य र कहिले जटिल समस्या देखिनुको कारण दसगजा अतिक्रमण नै हो। यो क्षेत्रको दसगजा नेपालतर्फबाटभन्दा भारततर्फबाट दोब्बरभन्दा बढीले अतिक्रमित छ।
जिल्लाको सन्दकपुर, कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभञ्ज्याङ, चित्रेगुम्बा, हिले, छब्बिसे, फाटक, पुलखोला, सिमाना र गुफापातालमा दसगजा मिचेर संरचना बनाइएका छन्। यी क्षेत्रमध्ये भारतले दसगजाको धेरै स्थानमा पक्की सडक बनाएको छ। हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दसगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प नै छ।
पुलखोलाको दसगजामा एसएसबीले गोलघर बनाएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दसगजामै पर्छ। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया