२ कार्तिक २०८३, सोमबार

मनोनित केन्द्रीय सदस्यले लिए एमाले अध्यक्ष ओलीबाट शपथ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, १७ फागुन । नेकपा एमालेमा गत साता मनोनीत १० केन्द्रीय सदस्यमध्ये नौजनाले आज पार्टीका अध्यक्ष केपी ओलीबाट शपथ लिनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपत्यका बाहिर भएका कारण कृषिमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य हरि पराजुलीबाहेक अन्यले शपथ लिनुभएको हो ।

गत असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनपछि यही फागुन १३ गते केन्द्रीय कमिटीमा १० पूर्ण सदस्य मनोनीत हुनुभएको थियो । मनोनीत हुनेमा पराजुलीसहित केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, रामकुमार ज्ञवाली र जया घिमिरे हुनुहुन्छ ।

कार्यक्रममा अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताले नयाँ सदस्यलाई बधाइ दिनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले पार्टीमा धेरै योग्य र सक्षम व्यक्तिहरू रहे पनि सीमित व्यक्तिलाई मनोनीत गर्न सकिएको भन्दै जिम्मेवारीलाई सक्रियताका साथ बहन गर्न आग्रह गर्नुभयो ।

शनिबार खुलामञ्चमा आयोजित सभामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई ‘नेपाली काँग्रेसमा मिले हुन्छ’ भन्ने अभिव्यक्तिको प्रतिवाद गर्दै उहाँले भन्नुभयो, “एक महिना लामो तयारी गरेर खर्च गरेर कार्यकर्ता भेला गर्दैमा कोही उत्साहित हुनु पर्दैन ।”

उहाँले विगतमा पनि एमाओवादीले ‘यसपालिको हैजा आफूलाई लैजा’ जस्ता नारा लगाए पनि केही फरक नपरेको र त्यस्ता अभिव्यक्तिबाट प्रभावित हुनु जरुरी नभएको बताउँदै भन्नुभयो, “के त्यस्तो आरोप लगाउने पार्टी नेतालाई चाहिँ आर्यघाट जानु पर्दैन र ?”

कार्यक्रममा नेता नेपालले पार्टीमा रहेका सबैलाई उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने प्रणाली स्थापित गर्नुपर्ने बताउनुभयो ।