काठमाडौं, ११ मंसिर । महानगरीय प्रहरी परिसर काठमाडौंले एनआईसी एसीयालगायतका १८ बैंकलाई हस्ताक्षर चोरी गरी रकम निकाल्न सहयोग गरेको आशंकामा अनुसन्धान थालेको छ ।
विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर चोरेर कालीमाटी बस्दै आएका काभ्रेपलाञ्चोक पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरेलाई पक्राउ गरेपछि बैंकलाई पनि अनुसन्धान थालिएको हो ।

एनआईसीलगायत जनता, मुक्ति विकास बैंकलगायत अनुसन्धानको दायरामा रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । पक्राउ गरिएका ६ जनाको बयानका आधारमा नै उनीहरूसँग मिलोमतो गर्ने बैंकका सम्बन्धित कर्मचारीलाई अनुसन्धानमा तान्न लागिएको हो ।
बैंकमा खाता रहेका व्यक्तिको चेकमा रहेको हस्ताक्षर चोरी, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक लिँदै रकम निकालिएको अनुसन्धानका क्रममा खुलेको छ । ‘कर्मचारी वा सम्बन्धित अधिकारीको संलग्नताबिना यो काम हुन सक्तैन’, परिसरका अधिकारी भन्छन्,‘केहीको नाम आएको छ बाँकी अनुसन्धानको घेरामा छन् । हामी गहन ढंगले अनुसन्धान गरिरहेका छौं ।’











प्रतिक्रिया