काठमाडौं, १७ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।
फागुन १६ को प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीसँगको मुठभेडमा घाइते भएका नेता कार्यकर्तालाई भेट्न तीनकुनेस्थित कान्तिपुर अस्पताल पुगेका प्रचण्डले सरकारले संविधानसभामा जारी प्रक्रिया रोके आजै वार्तामा बस्न तयार रहेको बताउनुभएको हो । सहमतिमा संविधान लेखिनुपर्ने आफ्नो अडान यथावत रहेको उहाँले बताउनुभयो ।
वार्ताको साँचो आफूहरुसँग नभएको भन्दै उहाँले वार्ताका लागि आफूहरु जति लचिलो भए पनि सत्तापक्षले वास्ता नगरेको दुखेसो गर्नुभयो ।

अध्यक्ष प्रचण्डले सुशील कोइराला सरकारलाई कायर सरकारको संज्ञा दिनुभयो । आफूहरुको शान्तिपुर्ण आन्दोलनलाई विथोल्न सरकारले कायरता देखाएको भन्दै उहाँले आफूले पटकपटक गृहमन्त्री बामदेव गौतमलाई जानकारी गराउँदा पनि दमन नरोकिएको जिकिर गर्नुभयो ।
बानेश्वरमा भएको झडपमा घाइते भएका एमाओवादी पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठ, नेताहरु राजेश व्यन्जनकार, लक्ष्मी राई, राजेश बस्नेत, लगायत दर्जन बढीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । झडपमा प्रचण्ड पुत्री रेणु दाहाल पनि घाइते भएकी थिइन् । केही घाइतेको भने मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई भेट्न प्रचण्ड बिहान साँढे आठ बजे अस्पताल पुग्नुभएको थियो ।
यो पनि पढ्नुहोस्:
नारायणकाजीले झुक्याएकाले बानेश्वरमा झडप, हेर्नुस घाइतेहरुको हालत ! (फोटो फिचरसहित)
















प्रतिक्रिया