काठमाडौं, १६ फागुन । सरकारले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा राजधानीको नयाँ बानेश्वर झडपको स्थिती सिर्जना भएको जनाएको छ ।
शनिवार विज्ञप्ती जारी गर्दै सरकारका तर्फबाट गृह मन्त्रालयले ३० दलीय मोर्चाको जुलुसले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि बाध्य भएर बल प्रयोग गरेको स्पष्ट पारेको हो ।
सरकारले नयाँबानेश्वरदेखि विजुलीबजार सम्मको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन लगायतका कुनै पनि गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।
मोर्चाका तर्फबाट एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको जुलस तिनकुने निषेधाज्ञाको उल्ङघन गर्दै अघि बढेपछि नयाँबानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।
विज्ञप्तीमा जनाइए अनुसार झडपमा प्रहरीले २१ सेल अश्रुग्याँस प्रहार गरेको थियो । झडपमा १६ जना सुरक्षाकर्मीतर्फ घाइते भएका थिए । ‘निषेधित क्षेत्र नतोड्न सुरक्षाकर्मीले पटक पटक सम्झाउँदा उल्टै प्रहरीमाथि नै ढुंगामुढा प्रहार गर्ने काम भएको हुँदा बाध्य भई सुरक्षाकर्मीले २१ सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ,’ सरकारद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनकारीसँगको झडपमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सहित ९ जना र सशस्त्र प्रहरीबल तर्फ ७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रहरीले राजधानीका विभिन्न ठाउँबाट २६ सय लाठी बरामद गरेको छ । जनप्रर्दशनमा ल्याउन लागिएका लाठीलाई प्रहरीले ठाउँ ठाउँमा छापा मारेर बरामद गरेको हो ।
जसअनुसार नयाँबानेश्वर क्षेत्रबाट २ हजार थान र नागढुंगाबाट ६ सय थान लाठी आन्दोलनकारीबाट बरामद भएका छन् । सरकारले घाइते भएका सबैलाई स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

















प्रतिक्रिया