– सन्दिप भट्ट
चितवन, फागुन १६ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय आँपटारीको पहलमा जिल्ला कारागार भरतपुरमा रहेका कैदी बन्दीहरुको लागि निर्माण गरिएको घरेलु सामाग्री उद्योग निर्माण कक्षको शनिबार उद्घाटन गरिएको छ ।
दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कक्षको चितवनका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर बिकेले शनिवार उद्घाटन गरेका हुन् ।
गैडाँकोट नवलपरासीका अमृत भट्टचनको आर्थिक सहयोग तथा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयको श्रमदानमा उक्त कक्षको निर्माण भएको हो ।
कक्ष निर्माणपछि कैदी बन्दीहरुले आरामसँग घरेलु सामाग्रीको निर्माण गर्न सक्ने चितवनका प्रमुख जिल्ला अधिकारी बिकेले बताए । डा.बिकेले कारागारलाई सृजना गर्ने थलोका रुपमा विकास गरी जीवनउपयोगी सामाग्री निर्माणमा लाग्न उद्योग कक्षले उत्साह थप्ने बताए ।
कारागारलाई सजाय भुुक्तान गर्ने ठाउँ मात्र नभएर सुधार गृहको रुपमा व्यवस्थित गर्दै लैजानुपर्नेमा बिकेले जोड दिए । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक शम्भु उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीहरुलाई आयमूलक काममा सहभागी बनाएर सत्मार्गमा लाग्न प्रेरणा गर्ने उद्देश्यले उक्त उद्योग कक्षको निर्माण गरिएको बताए ।
बन्दीहरुले सुत्ने ठाउँमा नै घरेलु सामाग्रीहरु निर्माण गर्दै आएको देखेर उनीहरुको लागि व्यवस्थित रुपमा काम गर्न सक्ने वातावरण बनाउन उक्त निर्माण कक्षको निर्माण गरिएको उप्रेतीले बताए । उक्त कक्षमा एकैसाथ ७० जनाले काम गर्न सक्ने क्षमता भएको उप्रेतीले जानकारी दिए ।
घरेलु सामाग्री निर्माण कक्ष उद्घाटनका क्रममा जिल्ला कारागार भरतपुरका कारागार प्रमुख जेलर चोलाकान्त पोख्रेलले जेल जीवन बिताइरहेका व्यक्तिहरुले सिकेका तालिमलाई आय मूलक कार्यमा रुपान्तरण गर्न उद्योग कक्षले सघाउने बताए ।
कैदीबन्दीहरुले सीप सिकेर आयमूलक काम गर्दै आर्थोपार्जन गरेका कारण पनि आर्थिक रुपमा सबल बन्दै गएका पोख्रेलले बताए । कारागारमा कैदीबन्दीहरुले मुढा, ढाकाको पर्स, टोपी, पछ्यौरा, बाँसका डाइनिङ राउन्ड टेबल, कुशन लगायतका हस्तकलाका सामाग्री बनाउदै आएका छन् ।
यसैबीच, चिकित्सक श्रीमती संघ चितवनले कारागारमा रहेका महिला कैदीबन्दीहरुको लागि निशुल्क स्वास्थ्य शिविर गरेको छ । ३१ जना कैदी तथा १५ जना बन्दी महिलाहरुको स्वास्थ्य परीक्षण गरीएको हो ।
स्त्रीरोग विशेषज्ञ डा. सविता श्रेष्ठ, डा. रेणुुका ताम्राकार, डा.शारदा कुँवरले स्वास्थ्य परीक्षण गरेका थिए । संघकी अध्यक्ष ममता न्यौपानेले स्वास्थ्य परीक्षणका क्रममा ल्याब टेष्ट तथा युएसजी गर्नुपर्ने अवस्था भएकाहरुको निःशुल्क परीक्षण गरिने भएको जानकारी दिइन् ।
सोही अवसरमा संघले बन्दी गृहलाई आवश्यक पर्ने ४६ थान बेड सिट वितरण गरिएको छ । हाल कारागारमा ४९ जना महिला कैदीबन्दी ३ नावालबालिका सहितका ५१४ जना बन्दीहरु रहेका छन् ।
















प्रतिक्रिया