काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसभित्र गत १३औं महाधिवेशबाट देखापरेको तीन गुट १४औं महाधिवेशनको तयारी भइरहँदा बढेर पाँच पुग्ने क्रममा छ ।
कांग्रेसभित्र १३औं महाधिवेशनबाट सभापति निर्वाचित भएका शेरबहादुर देउवा, सभापतिका प्रत्याशीद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको आआफ्नै गुट सक्रिय रहिरहेकै बेला पछिल्लो समय पुरानो संस्थापन भनेर चिनिएको ‘कोइराला’ परिवारको अर्को गुटसमेत सक्रिय भएको छ ।
यसैगरी, तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा पार्टी एकीकरण गराएर उपसभापति बनेका विजयकुमार गच्छदारको समेत अलग्गै गुट बन्ने क्रममा छ ।
हाल संस्थापन समूहबाट सभापति देउवासहितको टिम आगामी महाधिवेशनका लागि बलियो बन्ने गरी अघि बढिरहेको छ भने वरिष्ठ नेता पौडेलले नेतृत्व गरिरहेको समूहभित्रबाट अर्को समूह निर्माण हुँदै आगामी महाधिवेशनका लागि रणनीति बनाउन लागेको छ ।
सो समूहबाट गत महाधिवेशनमा निर्वाचित भएका महामन्त्री डा. शशांक कोइराला र अर्का नेता डा. शेखर कोइरालासहितको नेतृत्वमा कांग्रेसभित्र अर्को गुट उदाउने क्रममा देखिएको छ । यो समूहले बेलाबेला आफू निकट मानिएका नेतालाई बोलाएर छुट्टै बैठकसमेत गर्दै आइरहेको छ ।
यसैगरी, १३औं महाधिवेशनपछि वैचारिक समूहका रूपमा उदाएको सिटौला समूहसमेत आगामी महाधिवेशनलाई लक्षित गरेर देशैभर आफ्नो गतिविधि बढाउने क्रममा छ ।
यस्तै, कांग्रेससँग पार्टी एकता गराएर उपसभापति बनेका गच्छदारसमेत आफ्नो गुटको स्थान देखाउन अहिले कुनै पनि गतिविधिमा आफूलाई सक्रिय देखाइरहेका छैनन् । उनले आगामी महाधिवेशनका लागि कता आफूलाई उभ्याउँछन् भन्नेबारे अहिले केही देखाएका छैनन् ।
कांग्रेस राजनीतिलाई विगतबाटै नजिकबाट नियाल्दै आइरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसभित्र विगतदेखि नै महाधिवेशनको संघारमा बार्गेनिङका लागि गुट बन्ने र भत्कने क्रममा रहँदै छन् ।
‘कांग्रेसमा विगतबाट नै बार्गेनिङ कहाँनेर गर्न सकिन्छ भन्ने हिसाबबाट मात्रै गुट स्थापना भइरहेको देखिन्छ, आफ्नो उपस्थिति कसरी बलियो बनाउने भनेर मात्रै कांग्रेसभित्र गुट बन्ने गरेका छन् । तर, सिरियस गुट भने छैनन्,’ राजनीतिक विश्लेषक आचार्यले भने ।
उनले कांग्रेसभित्र देशव्यापी रूपमा देखिएका गुटमध्ये हालको संस्थापन बाहेकबाट आगामी महाधिवेशनमा को उम्मेदवार बन्ने भन्ने तय नभएका कारण गुटभित्रै पनि अझै तीव्र रूपमा असन्तुष्टि छरिएर आउने बताए ।
‘हाल कांग्रेसभित्र संस्थापन मानिएको समूह एक ढिक्का जस्तै छ, इतर समूह चिरा पर्दै अझै विभाजन हुने क्रममा छन्,’ राजनीतिक विश्लेषक आचार्यले थपे ।
उनले हालका सभापति देउवा पार्टी सञ्चालनको नेतृत्वदायी भूमिकामा कमजोर देखिए पनि सो कमजोरी इतर पक्षको विभाजनपछि छोपिने क्रममा रहेको र कांग्रेस त्यही रूपबाट अघि बढिरहेको जनाए ।
‘पार्टी सञ्चालनका क्रममा सभापति देउवाजीका धेरै कमजोरी देखिएका छन्, तर इतर पक्षको चोइटिने क्रमले उनको कमजोरी फेरि पनि छोपिने क्रममा छ, कांग्रेस त्यही रूपबाट अघि बढिरहेको छ ।’ राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया