१० मंसिर २०८३, बिहिबार

भरतपुरकाे मुना सहकारीमा अवैध धन्दा, वडाध्यक्ष रेग्मीले लिए ५ लाख घुस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिशिर सिंखडा

भरतपुर, २७ कात्तिक । चितवनकाे भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. ले गैरकानूनी रुपमा संचालन गरेको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारको शाखा कार्यालयको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ र वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मीको संरक्षण रहेको पाइएको छ ।

गत २०७५ साल असार २५ गतेबाट खोलेसिमल बजारमा सो सहकारीको शाखा कार्यालय संचालन गर्न वडाध्यक्ष रेग्मीले अनुमति दिएका थिए ।

वडा कार्यालयले दिएको प्रमाणपत्रको आधारमा कार्यालय संचालन गरिएको सहकारीका संचालकहरुले बताएका छन् । कुनैपनि सहकारी संस्था संचालनका लागि एकै नगरपालिकाभित्र भए नगरपालिका र २ वटा नगरपालिका कार्यक्षेत्र पर्ने भए प्रदेश सरकारले अनुमति दिएपछि मात्र कार्यालय संचालन गर्न पाउने व्यवस्था छ ।

वडाध्यक्ष रेग्मीले कानून विपरीत सहकारीलाई अनुमति दिएको पाइएको छ । सो सहकारीले हालसम्म खोलेसिमल शाखाबाट करीव १ करोड ५० लाख रकम गैरकानूनी रुपमा संकलन गरेको छ ।

सो सहकारीको गैरकानूनी शाखा संचालनबारे कालिका नगरपालिका मौन रहेको छ । नगरपालिका कार्यालय नजिकै रहेको सो सहकारी गैरकानूनी रुपमा संचालनमा रहेपनि नगर प्रमुख खुमनारायण श्रेष्ठले यसबारे चासो दिएका छैनन् । नगरपालिका कार्यालय यसरी मौन रहनु आश्चर्यजनक रहेको स्थानीय सहकारीकर्मीहरूले बताएका छन् ।

वडाध्यक्ष रेग्मीले ५ लाख घुस खाएको आरोप

गैरकानूनी रुपमा खोलेसिमल बजारमा संचालनमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. को शाखा कार्यालय खोल्न कालिका वडा नं. ६ का वडाध्यक्ष विनोद रेग्मीले ५ लाख घुस खाएको बचतकर्ताहरूले आरोप लगाएका छन् ।

कानून विपरीत सहकारीको शाखा खोल्न अनुमति दिने र विभिन्न सञ्चारमाध्यममा समाचार आउँदा समेत वडाध्यक्ष रेग्मीले चासो नदिनुले उनले गैरकानूनी रुपमा ५ लाख घुस लिएको र सहकारी संचालन गर्न कानून विपरीत अनुमति दिएको बचतकर्ताहरूले आरोप लगाएका छन् ।

संस्था दर्ता भएर संचालन भयो होला भनेर रकम जम्मा गरेको तर संस्था गैरकानूनी रहेकोमा आश्चर्य लागेको सहकारीका एक बचतकर्ताले नाम नखुलाउने शर्तमा बताए । वडाध्यक्ष रेग्मीले सो आरोप निराधार रहेको टेलिफोनमा जानकारी दिए ।

मुना सहकारीमा रकम झिक्नेको भीड

आफ्नो रकम असुरक्षित रहेको भन्दै मुना सहकारीका बचतकर्ताहरूले आफ्नो रकम धमाधम झिक्न थालेका छन् । संस्थाले हालसम्म बचतकर्तालाई करीव १ करोड रुपियाँ फिर्ता दिइसकेको स्रोतले बताएको छ । सो सम्बन्धमा जानकारी माग्दा संस्थाका व्यवस्थापक माधव अर्यालले सबै जानकारी दिन नमिल्ने बताएका छन् ।

सो सहकारीका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा करोडौ रकम हिनामिना, बचतकर्ताको रकम जोखिममा भन्ने समाचार सञ्चारमाध्यममा आएपछि भरतपुर महानगरपालिका सहकारी शाखाको ध्यानाकर्षण भएको थियो ।

सो शाखाको पहलमा भएको छलफलमा मुना सहकारीको आर्थिक अवस्था बारे छानविन गरी ३५ दिनभित्र महानगरपालिकामा प्रतिवेदन बुझाउने गरी एक छानविन समिति गठन भएको सहकारी शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए ।

सो छानविन समितिको संयोजकमा भरतपुर महानगरपालिका सहकारी उपशाखा संयोजक राजेन्द्रमणि काफ्ले रहेका छन् ।

सदस्यहरूमा वडा नं. १० का प्रतिनिधि, जिल्ला सहकारी संघका प्रतिनिधि, बचत संघका प्रतिनिधि र नेफ्स्कुनका प्रतिनिधि रहने पौडेलले जानकारी दिए ।

सो समितिले एकजना चार्टड एकाउन्टेन्ट राखी सो सहकारीको यथार्थ आर्थिक अवस्थाको प्रतिवेदन बुझाए पछि सोही अनुसार अगाडि बढ्ने पौडेलले बताए ।