बागलुङ, १६ फागुन । बागलुङ क्षेत्र नं १ मा हुने हुन लागेको संविधानसभा उपनिर्वाचनका लागि सरगर्मी बढेको छ । निर्वाचन आउन डेढ महिनामात्रै बाँकी रहँदा उम्मेदवार बन्न नेताहरु दौडधुपमा लागेका छन् ।
२०४६ साल यता काँग्रेस र एमालेले पालैपालो जित्दै आएको यस क्षेत्रमा टिकट पाउन काँग्रेस र एमालेमै सबैभन्दा बढी हानाथाप छ । काँग्रेसबाट यस क्षेत्रका स्वर्गीय सभासद् हरिबहादुर खड्काकी पत्नी चम्पादेवी खड्का, छोरा सुदीप खड्का, पूर्व जिल्ला सभापति मणिभद्र शर्मा, कार्यवाहक जिल्ला सभापति जगदिशचन्द्र उपाध्याय उम्मेदवार हुने चर्चा छ ।
एमाले र एकीकृत माओवादीले भने सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् । एमाले क्षेत्रीय समितिले तोकेका नाम नै समान प्राथमिकताका आधारमा इन्द्रलाल सापकोटा, जनक पौडेल, मनकुमारी केसी, रामजीप्रसाद शर्मा र हिराबहादुर केसीको नाम सिफारिस गरिएको छ । सिफारिस गरिएकामध्ये हिराबहादुर केसी गत निर्वाचनमा काँग्रेस सभासद् स्वर्गीय हरिबहादुर खड्कासँग प्रत्यासी हुनुहुन्थ्यो ।
त्यस्तै एकीकृत नेकपा माओवादीबाट तिलक उप्रेती, कृष्ण केसी, यज्ञबल्लभ शर्मा र गीता शर्माको नाम सिफारिस भएको छ ।
यसअघि जिल्लाका तीनै क्षेत्रमा विजयी बनेको नेपाली काँग्रेसले उपनिर्वाचनमा उम्मदेवार सिफारिसको लागि केन्द्रको परिपत्र कुरेर बसेको छ । केन्द्रको परिपत्र प्राप्त भएपछि प्रक्रिया थालिने कार्यवाहक जिल्ला सभापति जगदिशचन्द्र उपाध्यायले बताउनुभयो । विगतमा काँग्रेस र एमालेकै बीचमा प्रतिस्पर्धा भएकाले यसपटक पनि यी दुई दलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
गत निर्वाचनमा काँग्रेस उम्मेदवार खड्का १३ हजार ५ सय मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३ मत प्राप्त गर्नुभएको थियो । गत मंसिरमा सडक दुर्घटनामा परी सभासद् खड्काको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले विद्युतीय मतदान प्रक्रियाबाट नमुना निर्वाचन गराउने बताएको छ । यो वर्ष थप तीन हजार मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको लागि ३५ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताउनुभयो ।
निर्वाचन आयोगले चैत १ मा उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
















प्रतिक्रिया