काठमाडौं । सन् १९९१ मा ‘भेनिटी फेयर’ म्यागेजिनले कभर फोटो बनाएको हलिउड नायिका डेमी मुरको तस्बिरले ठूलो तरंग ल्याएको थियो ।
गर्भवती मुरको ‘बेबी बम्प’ तस्बिरको आलोचना गर्नेहरू नभएका हैनन् । तर उनको त्यो तस्बिर प्रकाशनपछि गर्भवती अवस्थालाई लुकाउनेभन्दा प्राकृतिक प्रकृयाका रूपमा स्वीकार्ने धेरै भए । मुरपछि धेरै नायिकाले उनकै बाटो पछ्याए ।
यसरी गर्भवती हुँदाको बेलाका तस्बिर खिचाउनेमा नायिकासँगै अरू सेलेब्रेटीको संख्या पनि उल्लेख्य छ । यो सूचीमा हलिउड नायिका एन्जेलिना जोली, किम कारदेसिया, स्कार्लेट जोन्सनदेखि बलिउड अभिनेत्री कोनकोना सेन, करिना कपुर, नेहा धुपियालगायत धेरैको नाम अटाइसकेको छ ।
चर्चित गायिका बियोन्सेको जुम्ल्याहा बच्चाकी आमा बन्न लागेका खबरसहितको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनी ‘भाइरल’ बनेकी थिइन् ।
के हलिउड, के बलिउड वा के नेपाली सिने जगत वा भनौं सर्वसाधारण नै, गर्भवती अवस्थालाई लाजको रुपमा भन्दा गर्व र उत्सवको रुपमा लिने चलन बढ्दो छ । योसँगै फोटोसुट ट्रेन्ड फैलिरहेको सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ ।
पछिल्लो समय रङ्गमञ्च र सिनेमामा सक्रिय सृजना सुब्बाले गर्भवती अवस्थामा गरेको फोटोसुट यस्तै अभ्यासको कडी हो । आमा बन्ने प्रक्रियालाई उत्सवका रुपमा मनाउनु पर्ने भन्दै उनले सार्वजनिक गरेका तस्बिर अहिले चर्चामा छ ।
गर्भावस्थामा तस्बिर सार्वजनिक गर्नेहरुमा नायिकाहरु निशा अधिकारी, संचिता लुइँटेल, ऋचा घिमिरे, बिनिता बराल र पूर्व मिस नेपालहरू झरना बज्राचार्य, माल्भिका सुब्बालगायतका कलाकार छन् ।















प्रतिक्रिया