काठमाडौ, १६ फागुन । सत्तारुढ प्रमुख दल कांग्रेस र एमाले शनिवारको प्रदर्शन सकिएपछि एमाओवादीसहितको विपक्षी मोर्चा वार्ता आउने भन्दै त्यसको पर्खाइमा बसेका छन् ।
प्रदर्शन पछि पनि वार्तामा आउन र सहमतिबाट अघि बढ्न विपक्षीले घुर्की देखाए स्थगित भएको संविधानसभाको प्रक्रिया अघि बढाउने योजना उनीहरुको छ ।
‘यो बीचमा उहाँहरु आफ्ना कार्यक्रममा लाग्नुभयो कुराकानी भएको छैन, तर कार्यक्रम सकिएपछि वार्तामा बस्छौ भन्नु भएको छ; एमाले उपाध्यक्ष भीम रावलले भने, ‘सहमतिकै लागि तयार हुनुहुन्छ होला भन्ने हाम्रो बुझाई छ तर अब पनि त्यसका लागि तयार हुनु भएन भने संविधानसभाको प्रक्रिया अघि बढ्छ ।’
दुई साता अघि विपक्षी मोर्चाका नेताहरुकै आग्रहमा संविधानसभाको जारी प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको थियो ।
संविधानसभाको बैठक अनिश्चितकालका लागि रोक्नका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका थिए ।
नागरिक समाजका प्रतिनिधिहरु समेतको आग्रहमा वार्ताको वातावरण बनाउन बैठक अनिश्चितकालका लागि रोकिएको थियो ।
बैठक स्थगित गरेर १० दिन भित्र सहमतिको लागि वार्ता गर्ने अनौपचारिक प्रतिबद्धता विपक्षी दलको थियो ।
तर फागुन १६ को प्रदर्शनको तयारीतर्फ विपक्षी मोर्चाका नेताहरु केन्द्रित हुँदा औपचारिक वार्ता सुरु हुन सकेन । तर नेताहरुबीच अनौपचारिक छलफल भने भइरहेको छ ।
त्यस्ता छलफल परिणाम नै निस्किने विन्दुमा नपुगेको काग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले बताए । ‘अब फागुनभर वार्ता हुनेछ । फागुन भित्र वार्ताबाट सहमति हुने अवस्था आएन भने प्रकृया अघि बढन सक्छ’ खडकाले भने ।
उनले एमाओवादीसहितको विपक्षी मोर्चाको भेला सकिएपछि केही चरण अनौपचारिक र त्यसपछि औपचारिक वार्ता हुन सक्ने उनले बताए । ‘वार्ता अघि बढ्छ, तर परिणाम आउनेरनआउने यसै भन्न सकिन्न’ उनले थपे ।
गत माघ ११ मा विपक्षी मोर्चाको विरोधका वीच प्रश्नावली संविधान सभाको दुई तहाई बढी मतले प्रश्नावली प्रस्ताव समिति बनाएको कान्तिपुर दैनिकले छापेको छ ।
उक्त समिति बनाउने निर्णयपछि विपक्षी मोर्चा चिढिएर औपचारिक संवादमै बसेको छैन । विपक्षीको विरोधै वीच प्रश्नावली समितिले संविधान सभामा प्रश्नावली पेश गरिसकेको छ ।
यो वीचमा प्रधानमन्त्री सुशील कोइरालाले दुईपटक लिखित रुपमै वार्ता र संवादमा आउन विपक्षीलाई आह्वान गरिसकेका छन् ।
विपक्षी मोर्चाका नेता दाहाललाई पटक पटक प्रत्यक्ष र टेलिफोन कुराकानी समेत गरेका छन् ।















प्रतिक्रिया